| सोमवार, कार्तिक २३, २०८३

पत्रकार दानी तीन लाख धरौटीमा रिहा

मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा पक्राउ परेका गोरखाका दुई जना धरौटीमा रिहा भएका छन् । सो आरोपमा पक्राउ परेका गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाललाई नुवाकोट जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

चैत ३० गते नुवाकोट जिल्ला अदालतका न्यायाधीश सुवास बाबु पुरीको इजलासले दानी र कुमाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले बताए । अदालतको आदेश अनुसार दानीले तीन लाख र कुमालले ६० हजार धरौटी तिरेर रिहा भएका प्रहरीले जनाएको छ । सोही आरोपमा पक्राउ परेका कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनार बिना धरौटी रिहा भएका छन् ।

उनीहरु गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । उनीहरुले तामाङसँग रहेको मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ३५ लाखमा किनबेच गर्ने भनेता पनि पैसा नदिई भागेको भन्दै प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

तामाङले प्रहरीमा खवर गरेपछि उनीहरुको खोजी कार्य तिव्र पारिएको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । दानी गोरखाको पत्रकारिता क्षेत्रमा रहेर केही समय काम समेत गरेका थिए ।

उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत प्रहरुलिे बरामद गरेको थियो । उनीहरु बिरुद्ध गत चैत ५ गते ठगी मुद्दा दर्ता भएको थियो । बरामद भएका सामग्रीहरु भने खानी तथा भूगर्भ विभागमा राखिएको प्रहरुलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्