
विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ
विदेश पठाइदिन्छु भन्दै करिव ७० लाख रकम ठगी गरेको आरोपमा गोरखाकी एक युवती पक्राउ परेकी छन् । धार्चे गाउँपालिका–५ घर भई हाल काठमाण्डौको बसुन्धारा बस्दै आएकी २० बर्षीया बिनिता गुरुङलाई मंगलवार पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गुरुङले दिपक सापकोटासहित १२ जनालाई बैदेशिक रोजगारका लागि ग्रिस पठाइदिन्छु भन्दै अकुत रकम लिएर सम्पर्क बिहिन भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए । ‘जानलाई १२ लाख ५० हजार लाग्छ । ग्रिस पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक तलव एक लाख हुन्छ भनी बिश्वास दिलाई प्रलोभनमा पारी उनीहरुबाट पटक पटक गरी ६९ लाख ३० हजार रकम लिई सम्पर्क विहीन भएपछि कारवाही गरिपाऊँ भनी जाहेरी प¥यो,’ उनले भने, ‘त्यही आधारमा हामीले उनलाई पक्राउ ग¥यौँ ।’
गुरुङलाई बसुन्धाराबाटै पक्राउ गरिएको उनले जानकारी दिए । उनीसँगै ठगीमा संलग्न रहेको आरोपमा महोत्तरी जिल्ला घर भई हाल काठमाण्डौ बस्दै आएका २३ बर्षीय निशेषकुमार मुक्तानलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागी बैदेशिक रोजगार बिभाग पठाइएको बताइएको छ ।




