
काठ चोरीको आरोपमा तीन जना पक्राउ, एकजना बिरुद्ध पक्राउ पुर्जी जारी
सहिद लखन गाउँपालिका–८ हटियाबाट अवैध सालको चिरान काठ बरामद भएको घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोमवार पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयले जनाएको छ । गत माघ ९ गते बेवारिसे अबस्थामा थुपारिराखेको २४ थान (३१ क्युफिट) चिरान काठ कार्यालयले बरामद गरेको थियो ।
‘काठ फेला परेपनि कसको हो भन्ने पनि पत्ता लागेको थिएन,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘गोरखकाली सव डिभिजन वन कार्यालयका प्रमुखलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको थियो र त्यसमा संलग्नहरुको खोजी कार्य पनि जारी थियो, मान्छे पहिचान भइसक्यो, पक्राउ पुर्जी पनि जारी भइसकेको छ ।’ उक्त व्यक्तिलाई यथाशिघ्र पक्राउ गरी अनुसन्धान गरिने उनले जानकारी दिए ।
यता पालुङटारबाट बरामद भएको साल लगायतका बिभिन्न जातको काठको अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । ट्याक्टर धनी, ट्याक्टर चालक र काठधनीलाई यही फागुन १३ गते पक्राउ गरिएको पालुङटार सव डिभजिन वन कार्यालयका प्रमुख अर्जुनबहादुर अच्छामीले बताए ।
उनकाअनुसार गत पुस महिनाको ११ गते पालुङटार नगरपालिका–५ हवाइग्राउण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा ट्याक्टरमा अवैध रुपमा ओसारपसार भइरहेको साल लगायत बिभिन्न जातका २४ क्यू फिट काठ बरामद भएको थियो । प्रहरीलाई देखेपछि ट्याक्टर छाडेर चालक भागेका थिए । अनुसन्धान गर्दै खोजी कार्य तिव्र बनाएको कार्यालयले यही फागुन १३ गते उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसँग थप अनुसन्धान भइरहेको अच्छामीले बताए ।




