
उत्तरी गोरखाको एक होटलमा आगलागी
उत्तरी गोरखाको चुम्नुब्री गाँउपालिकाको वडा नं. ७ छेकम्पारको एक होटलमा आगजानी भएको छ । स्थानीय छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएको ट्रेकर होम होटलमा गए राती करिब एक बजेको समयमा आगजानी भएको वडाध्यक्ष टसी दोर्जे लामाले जानकारी दिए ।
होटलमा केही पनि नभएको बेला आगजानी भएको उनले बताए । ‘आगलागी भएको भनेर मलाई राती १ः ०८ बजेतिर फोन आयो, आगो नियन्त्रण गर्न सक्नि कुनै स्थिती नै थिएन्’ उनले भने, म पुग्दाँ पुरै जाली सकेछ ।’ उनले थपे ‘होटल सञ्चालक काठमाडौं गएका रहेछन्, होटल कुरुवा धार्चे खोर्लाबेसीका एक जना माइला भन्नेले थाहा पाएर सबैलाई खबर गरेको रहिछ ।’
उक्त भवनमा करिब १२ वटा कोठा रहेको थियो । आगजानीबाट होटल भित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको बताएको छ । एक करोड भन्दा बढीको क्षती भएको सञ्चालक लामाको दाबी छ । ‘ दुई लाख नगद नै थियो, ५ लाख बराबरको खाद्यन्न, सोलारलगायत अन्य सामग्रीहरु गर्दा एक करोड ३० लाख जति क्षती भएको छ ’ उनले भने । प्रहरी चौकी छेकम्पारबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा करिब ३ घण्ट पछि आगो नियन्त्रणमा लिएको थियो ।




