
दुर्घटनाको भोलिपल्ट मात्र घाइतेको उद्धार, निषेधित व्यवस्थाले उद्धारमा सकस
गोरखामा भीरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङको बुधबार बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।
खच्चड धपाउँदै फर्किने क्रममा बाटोमाथिबाट खसेको ढुंगाले लछारेर भीरमा पुगेका उनी घाइते भएका थिए । तर निषेधित क्षेत्र रहेको हुनाले उनको उद्धारमा निकै सकस परेको गोरखाका सांसद राजेन्द्र बजगाइँले बताए ।
गुरुङमात्रै होइन यसअघिका गोरखाको उत्तरी भेगका कैयौँको उद्धारमा यस्तै सकस परेको छ । सकसको कारण पैसा र हेलिकोप्टर नभएरमात्रै होइन जनमैत्री हुन नसकेको सरकारी नियमले ।
सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा अनुमतिबिना हेलिकोप्टर उँडाउन पाइँदैन ।
‘मेरो क्षेत्रका कैयौँ व्यक्ति यसरी घाइते भएका छन्, उनीहरुको उद्धारमा निषेधित क्षेत्रका कारणले साह्रै सकस परेको छ,” बजगाइँले भने, “निषेधित क्षेत्र हटाउन पटक पटक आग्रह गरेका छौँ ।
हामी हाम्रै गाउँ ठाउँमा जान र हेलिकोप्टर उडाउन अनुमति लिने प्रक्रिया कसको लागि गरिएको हो थाहै भएन ।”
उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट सो क्षेत्रका स्थानीयको उद्धार गर्नुपरेमा नेपाली सेनाको बलाधिकृतको कार्यालय, नेपाल प्रहरी महानिरीक्षकको कार्यालय, युद्ध कार्य निर्देशनालय, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नेपाली सेना सैनिक हवाई महानिर्देशनालय, जिल्ला प्रशासन कार्यालय हुँदै अनुमति लिनुपर्छ ।
कुनै ठाउँमा अनुमति लिन सकिएन भने उद्धार हुनै सक्दैन । यसबाहेक प्राइभेट हेलिकोप्टर भयो भने नागरिक उड्ययन प्राधिकरणसहित सबै निकायलाई समन्वय गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल पनि गोरखाबाटै प्रतिनिधित्व गर्छन् । त्यतिमात्रै होइन गृहमन्त्री नारायणकाजी श्रेष्ठको जिल्ला पनि गोरखा नै हो ।




