| सोमवार, कार्तिक २३, २०८३

रुसमा मारिएका नेपालीका परिवारजनलाई क्षतिपूर्तिको पहल

रुसी सेनामा कार्यरत अवस्थामा मृत्यु भएका ६ नेपाली नागरिकको परिवारलाई क्षतिपूर्तिका लागि नेपालले रुससँग कूटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले १८ मंसिरमा ६ नेपाली मारिएको पुष्टि गर्दै क्षतिपूर्तिका लागि विज्ञप्तिमार्फत आग्रह गरेको थियो । त्यसपछि नेपाली दूतावासले रुसको विदेश मन्त्रालयमा पहल थालेको छ ।

रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया र राजकुमार रोका, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रीतम कार्की र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ । रुसी सेनाले नेपाली दूतावासलाई मृतकहरूको मृत्यु प्रमाणपत्र पठाएको छ । रुसका लागि नेपाली राजदूत डा। मिलनराज तुलाधरले क्षतिपूर्तिका लागि पहल भएको जानकारी दिए । ‘मृतकका परिवारजनलाई क्षतिपूर्तिका लागि पहल जारी राखेका छौँ । यसबारे रुस सरकारबाट जानकारी आएपछि सार्वजनिक गर्नेछौँ,’ उनले टेलिफोनमा भने ।

नेपाल सरकारले उनीहरूको शव नेपाल पठाउन र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । ‘रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही आधारमा नेपाली दूतावासका तर्फबाट रुससँग क्षतिपूर्तिका लागि कूटनीतिक पहल थालिएको तुलाधरले बताए । साभारःनयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्