| आइतवार, कार्तिक २२, २०८३

budi-gandaki-hydro

बुढी गण्डकी डुबानमा नपर्नेलाई पनि मुआब्जा !

गोरखा ः बुढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा नपर्ने जग्गाधनीलाई पनि मुआब्जा वितरण गरिएको छ । आयोजनाको वातावरण, मुआव्जा वितरण पुनस्थापना तथा पुनर्वास इकाइ र जिल्ला मुआव्जा निर्धारण तथा वितरण समितिले डुबानमा नपरेका २२ जनाको खातामा हालै रकम जम्मा गरिदिएको हो ।
दोस्रो चरणको मुआव्जा वितरणको क्रममा डुबानमा नपरेका साबिक बुङ्कोट गाविसका नौ जना, फुजेल गाविसका आठ जना र नाम्जुङ गाविसका पाँच जनाको खातामा मुआव्जा रकम जम्मा गरिएको इकाइ कार्यालयले जनाएको छ ।
२२ जना जग्गाधनीको करिब ३५ रोपनी जग्गाको मुआव्जावापतको रकम राष्टिूय वाणिज्य वैंक तथा प्रभु वैंकको खातामा रकम जम्मा भएको बताइएको छ । सबैलाई गरी करीब तीन करोड रुपियाँ खातामा गएको स्रोतले जनाएको छ ।
जग्गा नापजाँच गर्दादेखिकै गल्ती भएको इकाइका प्रमुख कृष्ण कार्कीले बताए । ‘डिपिआरका लागि अध्ययन गर्ने बेलादेखि नै गल्ती भएको हो’ कार्कीले भने, ‘अहिले डुबानमा नपरेको जग्गाधनीले मुआव्जा पाए भन्ने हल्ला चलेपछि छानबीन गर्दा २२ जनाको खातामा पैसा गएको भेटियो ।’ खातामा गएको रकम फिर्ता लिने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।
खाताबाट रकम झिकिसकेका र फिर्ता दिन नमान्ने एकजनालाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएर फिर्ता गर्ने सर्तमा रिहा गरेको जनाएको छ ।
‘डिपिआरका लागि अध्ययन गर्दा ती जग्गा पनि पर्छन् भनियो । त्यही अनुसार जग्गा अधिग्रहण र रोक्का गरियो’, इकाइका प्रमुख कार्कीले भने, ‘सोही अनुसार मुआव्जा लिन आउन २०७२÷१२÷३० को गोरखापत्रमा नाम प्रकाशन गरियो । अहिले दोस्रो चरणको वितरणको क्रममा उनीहरुको खातामा पैसा गयो ।’ डुबान क्षेत्रलाई रेखाङ्कन तथा सीमाङ्कन गर्दा ती जग्गा डुबान क्षेत्रभित्र नपर्ने प्रमाणित भएको उनले बताए ।
खातामा मुआव्जा रकम गएकामध्य १५ जनासंग फिर्ता गरिसकेको जिल्ला मुआव्जा निर्धारण तथा वितरण समितिको कार्यालयले जनाएको छ । कार्यालयले त्रुटीवश रकम गएका सबैको खाता रोक्का गरेको जनाएको छ । साथै २५ गतेभित्र रकम फिर्ता गर्नुहुन भनेर पत्राचार पनि गरिएको जनाएको छ ।
आयोजनाको ५३ किलोमिटर ठूलो तालबाट समुद्री सतहदेखि ५४५ मिटर उचाइसम्म डुबानमा पर्ने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । डुबानबाट तीनहजार पाँचसय घरपरिबार बिस्थापित हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्