| सोमवार, कार्तिक २३, २०८३

अनि सांसदले लेखे, मेयर बालेनले त्यसै आगो लाउँछु भनेको होइन रहेछ …

वृद्धभत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका चुमनुब्री २ का एक वृद्धलाई हेलिकोप्टरबाट उद्धार गर्न गोरखाका सांसद राजेन्द्र बजगाईँले दिनभर प्रयास गर्दा पनि सफल भएनन् । गम्भीर घाइतेको ज्यान बचाउन आफैले पैसा तिरेर हेलिकोप्टर चार्टर गर्न खोज्दा पनि गृहमन्त्रालयले निषेधित क्षेत्रको बहानाबाजी गरेर आजित पारेपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘मेयर बालेनले त्यसै आगो लाइदिन्छु भनेको हैन रहेछ …’


‘चुमनुब्री २ स्योका ८० बर्षका वृद्ध वडा कार्यालयमा वृद्धभत्ता लिन जाँदा भीरबाट लडेर गम्भीर घाइते हुनुहुन्छ भने मलाई साँढे दुई बजे खबर आयो । गृहमन्त्रालयको कागजात म मिलाउँदै गर्छु, त्यहाँबाट बनाउने सिफारिस बनाइदिनु भनेर एक मिनेट नबित्दै मैले गोरखाका सिडियोसावलाई खबर गरेँ’, सांसद बजगाईँले एकसासमा भने, ‘निजी कम्पनीको हेलिकोप्टरलाई फोन गरेँ । गृहको अनुमति चाहिन्छ भन्यो । गृहमन्त्रीलाई फोन गरेँ, फोन रिसिभ भएन । पिएलाई गरेँ, मन्त्रीजी बिराटनगरमा भाषण गर्दै हुनुहुँदो रहेछ । गृहसचिवलाई फोन गरेँ उठेन । पछि थाहा भयो, उहाँ पनि बिराटनगरकै कार्यक्रममा हुनुहुँदो रहेछ । लगातार साँढेदुईघण्टा प्रयास गरेँ गृहमन्त्रालयको कागज बनाउन सकिएन ।

पछि सेनाको हेलिकोप्टरलाई फोन गरेँ । भाडाको स्रोत सुनिश्चित गर्नुपर्छ भन्यो । मैले त्यसको ग्यारेण्टी गरेँ । तैपनि हेलिकोप्टर उँडाउन सकिएन ।’ निषेधित क्षेत्र भएकाले उत्तरी गोरखाबासीले अकालमै ज्यान गुमाउनु परेको उनले गुनासो गरे । ‘जनता मार्ने निषेधित क्षेत्र कसका लागि हो ? जनताका लागि हो कि, सरकारका लागि हो कि, चाइनाका लागि ?’, उनले भने, ‘सरकारले न गाउँमा यातायात सेवा पु¥याउन सक्छ, निषेधित क्षेत्र भनेको छ, न लाखौँ खर्च गरेर घाइतेको उद्धार गर्न पाइन्छ, न सुत्केरीको, न बिरामीले समयमै उपचार पाउँछन् । नेपाली जनतालाई अकालमा मार्ने निषेधित क्षेत्र चाहिँदैन भनेर सबका सब जनताले बिरोध गरिरहेका छन् । फेरि कसका लागि चाहियो यो निषेधित क्षेत्र ?’ उत्तरी गोरखाबासीका लागि सरकार अति क्रुर, अति निर्मम भएको उनको आरोप छ ।


चुमनुब्री गाउँपालिका २ स्योका ८० बर्षका छेवा दोर्जे लामा सोमबार बिहान ११ बजे वडा कार्यालयमा वृद्धभत्ता बुझ्न जाँदा भीरबाट लडेर घाइते भएका थिए । ‘करिब एकसय मिटर तल खस्नु भएको रहेछ । टाउको फुटेको छ, मुख पनि फुटेको छ’ वडा सदस्य छिरिङ छ्योम्बेलले भने, ‘स्वास्थ्यचौकीबाट मान्छे आएर टाउको र मुख सिलाएर दिनभरि हेलिकोप्टर पर्खेर बसेको छ । रगत सबै बगेर गइसक्यो । धेरै गाह्रो भइसकेको छ । हेलिकोप्टर आउँछ कि आउँदैन होला खै ?’

प्रतिक्रिया दिनुहोस्