| आइतवार, कार्तिक २२, २०८३

death body

शव चिर्नेले गरे प्रहरी, जनप्रतिनिधि र पीडित परिबारमाथि आक्रमण

दरौँदी ः धार्चे ६ काशिगाउँका एक मृतकको शव चिर्नेलाई पक्राउ गर्न गएका प्रहरी, स्थानीय जनप्रतिनिधि तथा बोक्सी आरोपबाट पीडित परिबारमाथि आक्रमण भएको छ । प्रहरी चौकी मान्बुबाट गएका प्रहरीटोली तथा जनप्रतिनिधि र पीडित परिबारमाथि शनिबार दिउसो साँढे एक बजे आक्रमण भएको हो ।
आक्रमणमा एक प्रहरी हवल्दार र एक सिपाही सामान्य घाइते भएका छन् । उनीहरुलाई जोगाउन गएका गाउँ कार्यपालिकाका सदस्य आशबहादुर घले र वडा सदस्य कान्ते गुरुङमाथि पनि उच्छृङल समूहले कुटपिट गरेका वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए ।
साथै बोक्सी आरोपमा शव काट्नेविरुद्ध उजुरी दिने सोममाया गुरुङ र रामाया गुरुङको परिबारमाथि पनि गाउँलेले कुटपिट गरेका छन् । बोक्सीको आरोपबाट पीडित काली गुरुङ, उनकी छोरीहरु मीनकुमारी गुरुङ, सूचना गुरुङ र दिदी मित्रीमाया गुरुङमाथि आक्रमण भएको उजुरी दिन सदरमुकाम आएकी राममाया गुरुङले जानकारी दिइन् । ‘हाम्रो परिबार एकापटि अरु सबै गाउँले एकापटि भएका छन् । सबै गाउँले धुरिएर आमा र बहिनीहरुलाई कुटे’, अतालिँदै उनले भनिन्, ‘फोन गर्न खोज्यो, फोन पनि लाग्दैन । हामी दुई बहिनी गाउँ जान भनेर गएको सबैले नजाओ, तिमीहरुलाई पनि कुट्छन् भने, अनि नारेश्वर पुगेर फर्कियौं । अब भोलि जान्छौं ।’ आफूहरुमाथि नै बोक्सी आरोप लगाइएको र उल्टै आफूहरु माथि नै आक्रमण भएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
गाउँमा प्रहरी पुगेपछि हरेक घरको एकेक जनाका दरले कचहरीमा भेला भएका थिए । गाउँलेहरुले आरोपी रोशन गुरुङलाई मात्रै लैजान नदिने भन्दै हुलदंगा गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको गाउँ कार्यपालिका अध्यक्ष घले बताउँछन् । ‘गाउँमा पुलिस आएपछि कचहरी भयो । अनि एकदुई जनालाई मात्र लैजान दिदैनौं । जिल्लाका मान्छे नै गाउँमा आउनु पर्छ भनेर हुलदंगा भयो । सम्हाल्न लाग्दा उल्टै हामीलाई पनि लात्तैलात्ताले हाने’, घलेले भने, ‘गाउँमा निकै तनाब भएको छ । प्रहरीलाई त मैले घरमा लगेर सुरक्षा दिएर राखेको छु ।’ घटनापछि इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टर सुरज कार्कीको नेतृत्वमा १२ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरीको टोली काशिगाउँ पठाइएको प्रहरी उपरीक्षक बिमल बस्नेतले बताए । तर उनले प्रहरी कुटिएको भने अस्वीकार गरे । ‘सामान्य धकेलाधकेल भएको हो कुटपिट भएको छैन’, उनले भने ।
बोक्सीको आरोप बारे अनुसन्धान प्रक्रिया नै प्रभावित हुने गरी आक्रमण हुनु दुखद घटना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको भनाइ छ । ‘यो दुखद भयो । प्रहरीले अनुसन्धान गर्न पाउनु पर्छ’, प्रजिअ भट्टराईले भने, ‘घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले कि समझदारीमा मान्छे पक्राउ गर्छ, छेकथुन भए बल प्रयोग गर्छ तर प्रहरी पछि हट्दैन ।’ वातावरण बिग्रन नदिन सहयोगका लागि उनले आग्रह गरे । केही उच्छृङ्खल युवाहरुले गत साउन ११ गते मृतक भीम गुरुङको शव चिहानडाँडामा काटेका थिए । बोक्सी लागेर मरेको र उनको शरीरभित्र सर्प, भ्यागुता, छेपारो रहेको प्रमाणित गर्न शव काटेका थिए ।
स्थानीय काली गुरुङ र उनको परिबारमाथि बोक्सीको आरोप लगाएको भन्दै शुक्रबार स्थानीय रोशन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
बोक्सीको आरोप सम्बन्धी कसुर र सजायँ ऐनले कसैलाई पनि बोक्सीको आरोप लगाउन नपाइने र आरोप लगाएर कस्तो खालको व्यबहार ग¥यो भन्ने आधारमा सजायँको व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्