| सोमवार, कार्तिक २३, २०८३

सौरपानी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारियो

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी क्षेत्रमा केही महिनादेखि बढेको चोरीडकैतीका घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील ठाउँहरुको पहिचान गरी जिल्ला प्रहरी कार्यालयले थप सुरक्षा टोली परिचालन गरेको छ ।

‘प्रहरी चौकी सौरपानीमा प्रहरीको जनशक्ति बढाएका छौँ,’ एसपी अनुपम श्रेष्ठले भने, ‘सादा पोशाकमा पनि टोली परिचालन गरेका छौँ ।’

चिनजानकै मानिसहरु घटनामा संलग्न रहेको अनुमान प्रशासनको छ । ‘घटनामा संलग्नहरु चिनेकै मानिसहरु हुन् भन्ने अनुमान गरेका छौ,’ प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
सो क्षेत्रमा थप सुरक्षाकर्मी खटाएर गस्ती बढाउन निर्देशन दिइएको उनले बताए ।

‘गाउँलेहरु आफै सात÷सात जनाको टिम बनाएर गस्ती गर्नुहुँदो रहेछ, प्रत्येक टिममा तीन जनाका दरले प्रहरी परिचालन गर्न भनेका छौँ,’ उनले भने । उक्त टोलीलाई इलाका प्रहरी कार्यालय जौवारीको टोलीले थप मद्दत गर्ने बताइएको छ । गस्तीमा खटिएका प्रहरी टोली स्थानीयसँगै गाउँमै बस्ने व्यवस्था मिलाइएको प्रजिअ भुसालले जानकारी दिए ।

गस्तीका लागि आवश्यक सहयोग र समन्वय गरिदिन पालिकालाई समेत अनुरोध गरिएको उनले बताए । चोरीडकैतीका कारण गाउँमा त्रास बढेपछि बिहिवार स्थानीय, जनप्रतिनिधि, प्रजिअ र सुरक्षा निकायका प्रमुखहरु बीच छलफल कार्यक्रम समेत भएको थियो ।

वडा कार्यालयमा भएको छलफलमा स्थानीयले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।
यस बिषयमा दरौँदी दैनिक पत्रिकाले केही दिनअघि समाचार संप्रेषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्