| सोमवार, कार्तिक २३, २०८३

सौरपानीका बासिन्दा चोरडाँकाको डरले बसाइँसराई गर्न थाले

बारपाक सुलीकोट ४ जामुनेका नन्दकुमारी देवकोटा गाउँमा असुरक्षित ठानी थातथलो छाडेर काठमाडौँ बसाई सरे । गत फागुन महिनामा राती साँढे नौ बजे सुतिरहेका बेला डाँकाहरुको आक्रमणमा परेका उनको परिबार गाउँमा बस्न असुरक्षित ठानी काठमाडौँमा डेरा खोजेर बसाइँ सरेका स्थानीय दिनेश खनखवासले जानकारी दिए ।

चोरडाँकाको त्रासदीले बसिखानु नभएपछि फुञ्चोकबेशीकी फूलमाया पनेरु घर छोडेर ढोडेनी झरेर बस्न थालेकी छिन् । केही महिनाअघि लुटेराको आक्रमणमा परी उनले कानको रिङ गुमाउनु परेको थियो । दिउँसो बाटोमा हिडिरहेका बेला लुटेराले आक्रमण गरी उनको कानबाट रिङ थुतेर लगेका खनखवासले बताए ।

गत जेठ चारगते डाँकाहरुसित हानाहान गरेर जोगिएका धनबहादुर ढकाल र सुशीला ढकालको परिबार पनि गाउँ छाड्ने तयारीमा छन् । छिट्टै बसाइँ सर्ने उद्देश्यका साथ उनीहरुले चितवनमा डेरा खोजिसकेका छन् । गाउँको पशुचौपाया बेचबिखन गरिसकेका उनीहरु यही हप्ताभित्र बसाइँ सरेर जाने खनखवासले बताए ।

गत आइतबार बेलुका घरभित्र बसिरहेका बेला चोरडाँकाहरुको आक्रमणमा परेर जोगिएका जामुनेकै चन्द्रप्रसाद देवकोटाको परिबार पनि गाउँ छाड्ने तयारी गर्दै गरेका स्थानीय दिनेश खनखवासले जानकारी दिए ।

गाउँमा चोर, डाँकाको साह्रै डरत्रास बढेको अर्का स्थानीय लक्ष्मण न्यौपानेको भनाइ छ । ‘गाउँमा चोर डाँकाको बिगबिगी नै भयो’, न्यौपाने भन्छन्, ‘एकबर्षदेखि गाउँमा कुनै न कुनै चोरीको घटना भइरहेको छ । गाउँलेहरु सबै चोरको डरले न दिउसो बाटोमा हिड्न सुरक्षित ठान्छन्, न राती निर्धक्कले सुत्न सक्छन् ।’

बिगत चारपाँच महिनादेखि बारपाक सुलीकोट ४ का विभिन्न टोलमा चोरको त्रासदी बढेको उनको भनाइ छ । ‘लामो समय भइसक्यो चोरडाँकाको गतिविधि बढेको बढै छ । प्रहरीलाई पनि खबर गरेको हो, तर खै सुरक्षाको प्रत्याभूति गराउन सकेको छैन’, उनले भने, ‘भन्ने बेलामा बसाइँ सराई न्यूनिकरण गर्ने भन्ने, तर गाउँमा असुरक्षा बढेको महिनौ भइसक्यो, सुरक्षाको माग गर्दा कतैबाट वास्ता छैन । मान्छेहरु धमाधम बसाइँ सर्दैछन् ।’

पछिल्लो चरणमा गत सात गते राती जामुनेका चन्द्रप्रसाद देवकोटाको घरमा एमसिपी झारेर घरभित्र पस्न खोज्दा घरवालाले लखेटेका थिए । सोही दिन पोखरी गाउँका नन्दप्रसाद ढकालको घरमा पनि चोरले लुटपाट गर्ने प्रयास गरेका स्थानीय खनखवासले जानकारी दिए ।

टारीगाउँमा राती साँढे नौ बजे सुत्ने तर्खर गर्दैगर्दा घरमा चोर पसेपछि धनबहादुर ढकाल दम्पत्ति र चोर डाँकाहरु बीच हानाहान भएको थियो । गाउँलेहरु धुरिएपछि चोरडाँकाका टोली भागेका खनखवासले जानकारी दिए ।

गत २१ गते पोखरीगाउँमा दिउसो स्थानीय ठाकुर प्रसाद ढकालको घर फुटाएर तामाका भाँडाहरु चोरेर लगेका उनले बताए । स्थानीय यमबहादुर अधिकारीकी आमाको हातको सुनको बाला र कानको रिङ पनि लुटेराले लुटेको खनखवासले बताए ।
गाउँमा चोरी र लुटपाटको घटना बढेपछि स्थानीयबासी त्रसित भएका छन् । कतिपय घरधनी राती सुत्न सकेका छैनन् भने कतिपय आलोपालो गरेर सुत्ने गरेका खनखवासको भनाइ छ । ‘नचिनेका मान्छे राती ढोका ढकढक गर्न आउँछन् कि भनेर गाउँलेहरु डराइरहन्छन्’, उनी भन्छन्, ‘दिउसो गाउँमा नौलो मान्छे आए भने पनि चोरै आए कि भनेर शंका हुन्छ । गाउँमा अशान्ति भयो ।’

बारपाक सुलीकोट ४ मा चोर, डाँकाको गतिविधि बढेको गुनासो आएको प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको भनाइ छ । ‘हामीले केही दिनदेखि त्यस क्षेत्रमा सुरक्षाकर्मीको विशेष टोली खटाएर अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘सादा पोशाकमा पनि विशेष सुरक्षा टोली खटाएर सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्