
पूर्वजानकारीबिना बाँध खोलिदिँदा मस्र्याङ्दीमा एकजना बेपत्ता
पूर्व जानकारी नदिई मध्यमस्र्याङ्दीको बाँध खोलिदिँदा लमजुङमा एकजना बेपत्ता भएका छन् । बाँध खुलेपछि एक्कासी आएको मस्र्याङ्दीले किनारामा नुहाइरहेका एक पुरुष राइनास नगरपालिका ८ तार्कुघाटबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए ।
तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मस्र्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।
काम गरेर घर फर्किने क्रममा मंगलबार साँझपख मस्र्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताए । उनका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन ।
खानेपानीको काम गर्दै आएको गोरखा निर्माण सेवामा कार्यरत राजन मरहट्ठाले मंगलबार साँझपख ५ बजेर ५० मिनेटदेखि ६ बजेको समयमा मस्र्याङ्दीले ती युवकलाई बगाएको बताए । खानेपानी आयोजनाको काम गरेपछि आफ्नो बासस्थान फर्कने बेलामा मस्र्याङ्दीमा हातगोडा धुन गएको र मस्र्याङ्दीमा एक्कासी ठूलो बाढी आएर बगाएको उनले बताए ।
‘मस्र्याङ्दीमा एक्कासी ठूलो बाढी कहाँबाट आयो भनेर बुझ्दा थाह भयो, मध्यमस्र्याङ्दी आयोजनाले बाँधबाट सबै ढोका खोलेर पानी खोलिदिएको रहेछ ।’
गोरखा निर्माण सेवामा कार्यरत कृष्ण बन्जराले मध्यमस्र्याङ्दीको गेट खोलेर सबै पानी बगाइदिँदा खोलामा हातगोडा धुँदै गरेका कामदारलाई बगाएको बताए । उनले सार्वजनिक सूचना समेत नगरेको र नदी आपसारमा निर्माण भइरहेका आयोजनालाई समेत यसबारे खबर नगर्दा घटना भएको आरोप लगाए ।
मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले तार्कुघाटभन्दा धेरै माथि आयोजनाको विद्युतगृह रहेको र विद्युतगृहमा पानी बन्द गरेर विस्तारै ड्यामबाट पानी छोड्दा साविककै मात्रामा बगेको दाबी गरे ।
उनले आयोजनाको ड्यामबाट पानी छोड्ने विषयमा प्रशासन, प्रहरी, नगरपालिका, स्थानीय रेडियो सबैतिर खबर गरिएको बताए ।




