| सोमवार, कार्तिक २३, २०८३

अनाथ दाजुलाई उपचार खर्च दिँदै अनाथ आश्रमकी बहिनी


गतहप्ता दुर्घटनामा परी घाइते भएका एक अनाथ युवालाई अनाथ आश्रममा बसेर पढ्ने बहिनीले उपचार खर्च प्रदान गरेकी छिन् । दुर्घटनामा परी हात काटिएका चुमनुब्री ३ फ्राक्पाका २२ बर्षका खच्चड गोठाला रसबहादुर गुरुङलाई हाम्रो सहारा फाउण्डेशनले सञ्चालन गरेको अनाथालयमा बसेर पढ्ने १४ बर्षकी वुद्धमाया गुरुङले २० हजार रुपैयाँ प्रदान गरेकी हुन् ।


गोरखाको नयाँबजारस्थित अनाथालयमा बस्ने वुद्धमायाले काठमाडौँको शिक्षण अस्पतालमा उपचाररत दाजुलाई शुक्रबार रकम हस्तान्तरण गरेकी फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।

‘बुबा पनि नभएको, आमा पनि नभएको, उपचार खर्च पनि नभएर औषधी किन्न पनि नसकेको भन्ने खबर आयो’, श्रेष्ठले भनिन्, ‘अनि फाउण्डेशनले निर्णय गरेर उनकै बहिनी वुद्धमायाको हातबाट सो रकम हस्तान्तरण गरेका हौँ ।’


दुर्घटनामा परी मरणासन्न भएको खबर पाएपछि सो क्षेत्रबाट निर्वाचित सांसद राजेन्द्र बजगाईँले हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पतालमा भर्ना गरेका थिए । हेलिकोप्टर खर्चबापत एकलाख रुपैयाँ बजगाईँले दिने र बाँकी खर्च स्थानीयबासीले संकलन गरिरहेका स्थानीय वीरबल घलेले बताए ।


अभिभावक कोही पनि नभएको उनको ज्यान बचाउन गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङ लगायतले उपचार खर्च संकलन अभियान चलाएका घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्