मनास्लुमा बेपत्ता स्की पर्वतारोही मृत भेटिईन
गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी प्रसिद्ध अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अबस्थामा फेला परेकीे छन् । गत सोमबारदेखि हराइरहेकी उनलाई बुधबार बिहान मृत अबस्थामा भेटिएको सांग्रिला नेपाल ट्रेक्स प्रालिले जनाएको छ ।
मनास्लु आरोहण गरेर फर्कँदा स्की गर्ने क्रममा उनी बेपत्ता भएकी थिइन् ।
उनको शव अहिले मनासलु बेस क्याम्पमा छ । हेलिकोप्टरमार्फत सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । सामागाउँमा ल्याएपछि प्रहरी मुचुल्का तयार गरी काठमाडौँ पठाउने उनले बताए ।
संगै गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी भने स्की गर्दा मनाङतर्फकोे क्षेत्रमा हराएकी थिइन् ।
उनको दुर्घटना भएको स्थलबारे अध्ययन गर्न अमेरिकाबाट उनका परिबार आउँदै गरेका सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रवन्ध निर्देशक जीवन घिमिरेले जानकारी दिए । हेलिकोप्टरबाट दुर्घटनास्थलको अवलोकन गर्ने कार्यक्रमका लागि अनुमति लिने चरणमा रहेको घिमिरेले जानकारी दिए ।




