| सोमवार, कार्तिक २३, २०८३

‘राम्ररी पढ, म सहयोग गर्नेछु भनेको झल्को आइरहेको छ’

तारा एअर दुर्घटनामा परी शहीदलखन गाउँपालिका ५ तीनमानेका गणेशनारायण श्रेष्ठका दम्पत्ति तथा दुई छोरीहरुको मृत्यू भयो । गाउँमा समाजसेवीको छवि स्थापित गरेका श्रेष्ठको निधनले गाउँ शोकमा छ ।

गाउँलेहरु उनले स्थानीय जलदेवी माध्यमिक विद्यालयमा निर्माण गरेको सरस्वती मन्दिर सम्झिरहन्छन् । सोही विद्यालयमा स्थापना गरिदिएको कम्प्यूटर प्रयोगशाला सम्झिरहन्छन् । गाउँ विकास गर्ने बारे गत वैशाख १ गते नयाँबर्षको दिनमा गरेको छलफल पनि गाउँलेका मनमस्तिष्कमा झलझल याद आइरहेको छ ।

श्रेष्ठ दम्पत्ति केहीदिनअघि जेठ १३ गते लक्ष्मीबजारस्थित भतिजी सुस्मिताको घरमा आएका थिए । कुलायन पूजामा आएर फर्कँदा आफूलाई राम्ररी पढ्न आडभरोसा दिएर गएको सुस्मितालाई झल्को लागिरहेको छ । ‘ठुलोड्याडी र ठूलोममी अस्तिभर्खर कुलायन पूजामा आउनु भएको थियो’, सुस्मिता भन्छिन्, ‘फर्कनेबेलामा हामीलाई गणेश मूर्ति दिनुभयो ।

पूजा कोठामा राख, सँधै पूजा गर है भन्नुभयो ।’ अहिले ठूलोबुबाले दिएको मूर्तिमात्र साथमा रहेको, ठूलोबुबा नरहेको उनी बताउँछिन् । ‘ठूलोबुबाले दिनुभएको भनेर पूजा गर्न थालेको थिएँ । उहाँले दिएको मूर्तिले पूजाकोठा सजाइरहेको छ’, सुस्मिता भन्छिन्, ‘जानेबेलामा राम्ररी पढ, म काठमाडौँमा जागिर खोजिदिन्छु ।

आर्मीको सेकेण्ड लप्टनमा फर्म भर, म आफ्नो ठाउँबाट सकेको सहयोग गर्छु भन्नुभएको थियो । मेरो ड्याडीलाई पनि जागिर खानेभए काठमाडौँ आऊ भन्नुभएको थियो । उहाँले दिएको आश्वासन कानमा गुञ्जिरहेको छ ।’

गणेशनारायण श्रेष्ठ समाजसेवी थिए । गाउँलेको आड भरोशाका केन्द्रविन्दू थिए । काठमाडौँ बसे पनि नियमित गाउँ आउने श्रेष्ठ परिबारले भूकम्पले भत्काएको गाउँको घर बनाउँदै थिए । जहाज दुर्घटनाको समाचार सुनेर विक्षिप्त गाउँले अहिले निर्माणाधीन उनको घरतिर बारम्बार हेरिरहेका छन् । ‘बुढाबूढी, भुराभुरी सबैसित हाँसेर बोल्नुहुन्थ्यो ।

जसलाई जे सहयोग चाहिए पनि सहयोग गर्न तयार हुनुहुन्थ्यो’, स्थानीय राजेश श्रेष्ठ भन्छन्, ‘हाम्रो भञ्ज्याङ युवाक्लवलाई निरन्तर सहयोग गरिरहनुहुन्थ्यो । नयाँबर्षको दिनमा पनि गाउँमा आउनु भयो । गाउँलाई विकास गर्ने, विद्यालयलाई स्तरउन्नति गर्ने बारेमा विभिन्न योजनाहरु बनाउनुभएको थियो ।’ दुर्घटनाको समाचारले गाउँले शोकमा डुबेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्