| सोमवार, कार्तिक २३, २०८३

जहाज दुर्घटना : एकै परिबारका चारजना मृत्यू भएको खबरले तीनमानेभञ्ज्याङ शोकमा

जोमसोमका लागि उँडेको तारा एयरको दुर्घटनाग्रस्त विमानमा आफ्नो गाउँका गणेशनारायण श्रेष्ठ परिबारको चारजनाको मृत्यू भएको समाचारले सहिदलखन गाउँपालिका ५ को तीनमानेभञ्ज्याङ शोकमा डुबेको छ ।


आइतबारको दुर्घटनामा परेर उनीहरुको मृत्यू भएको सोमबार बिहान पुष्टि भएपछि गाउँलेको होसहवास उँडेको छ । श्रेष्ठ परिबारले गाउँमा गरेको समाजसेवाको कामको सम्झँदै गाउँले झन् आकुलब्याकुले स्थानीय राजेश श्रेष्ठ बताउँछन् ।


खबर सुन्नासाथ आइतबारै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका थिए । टोलीले घटनाको बारेमा राम्ररी बुझेर गाउँलेलाई जानकारी गराएका थिए ।
‘गाउँका अभिभावक गुमाएको समाचारले हामी स्तब्ध भएका छौँ, श्रेष्ठले भने, ‘दुर्घटनाको खबर हिँजै सुने पनि पुष्टि नभएकाले उहाँहरुको दुखद खबर नआओस् भन्ने प्रतीक्षामा थियौँ । अहिले दुखको खबर आयो । गाउँलेहरु सबै स्तब्ध छन् ।


घटनामा ५२ बर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ बर्षकी रश्मि श्रेष्ठ, दुई छोरीहरु २० बर्षकी रविना र २३ बर्षकी रोजिना श्रेष्ठको मृत्यू भएको छ ।


दुई टोरी अध्ययनको सिलसिलामा अमेरिकामा थिए । उनीहरु विदाका बेला गत वैशाख ३० गते नेपाल आएका थिए । छोरा रोशन भने अमेरिकामै थिए ।

श्रेष्ठ परिबार चढेको जहाज दुर्घटनामा परेको खबरले स्तब्ध रहेको सहिदलखन ५ तीनमाने गाउँ ।


रोजिना स्नातकोत्तर र पिएचडी अध्ययनका लागि पाँचबर्षअघि अमेरिका पुगेकी थिइन् । रविना नेपालमा ए–लेभलको अध्ययन सकेर थप अध्ययनका लागि एकबर्षअघि अमेरिका गएकी थिइन् ।


सफ्टवेयर इञ्जिनियरिङ पढेका श्रेष्ठको परिबार कामको सिलसिलामा २०४८ सालदेखि काठमाडौँमा थियो । ‘उहाँहरु पुतलीसडकमा रहेर सफ्टवेयर इञ्जिनियरिङको काम गर्दै आउनु भएको थियो’, स्थानीय विजय पुडासैनी भन्छन्, ‘बसोबास काठमाडौँमा भएपनि उहाँ निरन्तर गाउँमा आइरहनुहुन्थ्यो । गाउँलेलाई आवश्यक परेको सरसहयोग गरिरहनुहुन्थ्यो ।’ विशेषगरी गाउँका विद्यालयहरुमा श्रेष्ठ परिबारको सहयोग उल्लेखनीय थियो ।

गणेशनारायण श्रेष्ठ दम्पत्ति


स्थानीय जलदेवी माध्यमिक विद्यालयमा श्रेष्ठको एकल सहयोगमा कम्प्यूटर प्रयोगशाला स्थापना भएको थियो । ‘कम्प्यूटरसम्बन्धी नै काम गर्ने भएकाले उहाँले २०७१ सालमा हाम्रो विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिदिनुभयो’, प्रधानाध्यापक वुद्धरत्न श्रेष्ठले भने, ‘अनि विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गरिदिनु भएको छ ।’ विद्यालयमा आवश्यक परेको हरेक खालको सरसहयोग गर्ने गरेको प्रअ श्रेष्ठले बताए । ‘उहाँको बुबाको पालादेखि नै विद्यार्थीलाई छात्रवृत्ति दिँदै आउनु भएको थियो’, उनले भने ‘होस्टेलमा बस्ने विद्यार्थीलाई खानबस्न समस्या भयो भने पनि सहयोग गरिदिनुहुन्थ्यो । हाम्रो मात्र पनि होइन, दुर्गा प्रावि र चन्द्रकला प्राविलाई पनि कम्प्यूटर, प्रिण्टरहरु सहयोग गर्नुभएको थियो ।’ अन्तिम पटकको भेटमा पनि विद्यालयलाई जुनसुकै समस्या परेमा नहिच्किचाइकन आफूलाई भन्न श्रेष्ठले अनुरोध गरेको प्रअ श्रेष्ठले बताए ।
‘राम्ररी पढ, म सहयोग गर्नेछु भनेको झल्को आइरहेको छ’


श्रेष्ठ दम्पत्ति केहीदिनअघि जेठ १३ गते लक्ष्मीबजारस्थित भतिजी सुस्मिताको घरमा आएका थिए । कुलायन पूजामा आएर फर्कँदा आफूलाई राम्ररी पढ्न आडभरोसा दिएर गएको सुस्मितालाई झल्को लागिरहेको छ । ‘ठुलोड्याडी र ठूलोममी अस्तिभर्खर कुलायन पूजामा आउनु भएको थियो’, सुस्मिता भन्छिन्, ‘फर्कनेबेलामा हामीलाई गणेश मूर्ति दिनुभयो । पूजा कोठामा राख, सँधै पूजा गर है भन्नुभयो ।’ अहिले ठूलोबुबाले दिएको मूर्तिमात्र साथमा रहेको, ठूलोबुबा नरहेको उनी बताउँछिन् । ‘ठूलोबुबाले दिनुभएको भनेर पूजा गर्न थालेको थिएँ । उहाँले दिएको मूर्तिले पूजाकोठा सजाइरहेको छ’, सुस्मिता भन्छिन्, ‘जानेबेलामा राम्ररी पढ, म काठमाडौँमा जागिर खोजिदिन्छु । आर्मीको सेकेण्ड लप्टनमा फर्म भर, म आफ्नो ठाउँबाट सकेको सहयोग गर्छु भन्नुभएको थियो । मेरो ड्याडीलाई पनि जागिर खानेभए काठमाडौँ आऊ भन्नुभएको थियो । उहाँले दिएको आश्वासन कानमा गुञ्जिरहेको छ ।’

दुर्घटनाग्रस्त विमानमा परेका श्रेष्ठ परिबारको तीनमानेभञ्ज्याङस्थित निर्माणाधीन घर ।


गणेशनारायण श्रेष्ठ समाजसेवी थिए । गाउँलेको आड भरोशाका केन्द्रविन्दू थिए । काठमाडौँ बसे पनि नियमित गाउँ आउने श्रेष्ठ परिबारले भूकम्पले भत्काएको गाउँको घर बनाउँदै थिए । ‘बुढाबूढी, भुराभुरी सबैसित हाँसेर बोल्नुहुन्थ्यो । जसलाई जे सहयोग चाहिए पनि सहयोग गर्न तयार हुनुहुन्थ्यो’, स्थानीय राजेश श्रेष्ठ भन्छन्, ‘हाम्रो भञ्ज्याङ युवाक्लवलाई निरन्तर सहयोग गरिरहनुहुन्थ्यो । नयाँबर्षको दिनमा पनि गाउँमा आउनु भयो । गाउँलाई विकास गर्ने, विद्यालयलाई स्तरउन्नति गर्ने बारेमा विभिन्न योजनाहरु बनाउनुभएको थियो ।’ दुर्घटनाको समाचारले गाउँले शोकमा डुबेको उनले बताए ।

तस्वीरहरु सौजन्य : राजेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्