
श्यामचेतमा कांग्रेस र एमाले युवा बीच कुटाकुट, चार जना घाइते
आरुघाट गाउँपालिका १ श्यामचेतमा कांग्रेस र एमालेका युवाहरुका बीच कुटाकुट भएको छ । सोमबार राती चुनावका बिषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ ।
झगडामा एमालेका दुई र कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । एमाले निकट स्थानीय फूलबहादुर लामा र बिक्रम लामा तथा कांग्रेस निकटका वीरबहादुर लामा र दोर्जे लामा घाइते भएका छन् । उनीहरु सबैको अनुहार र आँखा आसपास चोटपटक लागेको छ ।
फूलबहादुर लामाको बायाँ आँखा नजिकै, निधारमा चोट छ भने बिक्रम लामाको दायाँ आँखा नजिकै र देब्रे खुट्टामा सामान्य चोट लागेको उपचारमा खटिएका आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रका सुदर्शन नेपालीले जानकारी दिए । उनीहरु मंगलबार बिहान सामान्य उपचारपछि घर फर्केका छन् ।
कुटपिटमा सहभागी भएको आरोपमा कुमार लामा र कर्मा लामाविरुद्ध इलाका प्रहरी कार्यालय आरुघाटमा उजुरी दिएको नेकपा एमालेका आरुघाट गाउँपालिकाका अध्यक्षका उम्मेद्वार कृष्ण नेपालीले जानकारी दिए ।
इप्रकाबाट प्रहरीहरु घटनास्थलमा पुगेका छन् । उजुरी अनुसार घटनाको छानबीन गरी दोषीमाथि कारबाही गर्ने इप्रका प्रमुख इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिए ।




