
नारायणगढ—मुग्लिन सडकः पहिरो पन्छाउने प्रयास जारी, डेढ घण्टापछि सडक खुल्ने
ठूलो पहिरो खसेपछि बुधबार बिहानैदेखि बन्द नारायणगढ-मुग्लिन सडकखण्ड खुलाउने प्रयास भइरहेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहान साढे ५ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो करिब ५० मिटरभन्दा लामो भएको अनुमान गरिएको छ । फेरि नजिकै अर्काे पनि पहिरो खसेकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।
विभिन्न सञ्चारमाध्यमले सो सडकखण्डमा आज दिनभरी नै गाडी नचल्ने संभावना रहेको उल्लेख गरे पनि चितवनका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र बस्नेतले भने अबको एक/डेढ घण्टामा सडक खुल्ने दाबी गरेका छन्।
प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘पहिरो ठूलो देखेर उहाँहरू (विभिन्न सञ्चारमाध्यम)ले त्यस्तो (दिनभर गाडी नचल्ने) भन्नुभएको होला तर, एक/डेढ घण्टामा बाटो खुलाउँछौं।’
पहिरो पन्छाउन चार/पाँचवटा डोजर, एक्साभेटर प्रयोग भइरहेको उनले जानकारी दिए।
पहिरो गएपछि काठमाडौं आउँदै गरेका गाडी जुगेडीमा र काठमाडौंबाट बाहिँदै गरेका गाडी मुग्लिनमा रोकिएका छन्। गाडी रोकिँदा सयौं यात्रु बाटामै अलपत्र परेका छन्।




