
उम्मेद्वार यस्तो छान्नू
अदालती फैसलाले नरोके स्थानीय तहको निर्वाचन यही वैशाखको ३० गते हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेद्वार उठाउने गृहकार्य गरिरहेका छन् । नेकपा एमालेले पनि अन्य विभिन्न दलसित तालमेल गरी साझा उम्मेदवार उठाउने गृहकार्य गरिरहेको छ ।
गठबन्धन गर्ने अन्तिम तयारीमा गोरखाका चार दलहरु छन् ।
बिहिबारको बैठकले गठबन्धनको अन्तिम टुंगो लगाउँदैछ । तर कांग्रेसले यसअघि नै आफ्नै तबरले पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका आकांक्षीको नाम संकलन गरिसकेको छ । एमालेले पनि मंगलबार प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरुको नाम संकलन गरी प्रदेश पठाएको जनाएको छ । माओवादीले पनि विभिन्न चारवटा पालिकाको प्रमुख, उपप्रमुखहरुको नाम संकलन गरेको छ । अन्यको संकलन गर्ने क्रम जारी रहेको जनाएको छ ।
गठबन्धन दलहरुले सिट बाँडफाँट गरिसकेका छ्रैनन् । पालिका भागबण्डा गरिसकेपछि बल्ल साझा उम्मेद्वारी छान्ने चरण सुरु हुनेछ । एमाले लगायतका गठबन्धन बाहिरका दलहरुले पनि केही पालिकामा साझा र अन्य धेरैमा धेरै जना आकांक्षीको नाम संकलन गरी प्रदेश समितिमा पठाएको हो ।
राजनीतिक दलको कार्यकर्ता भएपछि जुनकुनै पदको आकांक्षी हुन पाइन्छ, भएका छन् तर उम्मेद्वारको अन्तिम नाम चयन गर्दा धेरै सूचकहरुलाई आधार बनाएर छान्नुपर्छ । उम्मेद्वार छान्दा पार्टीले बिचार पु¥याएनन् भने मतदाताले छान्नेछन् । त्यतिबेला पछुताउनुबाहेक अन्य बिकल्प बाँकी हुने छैन ।
उम्मेद्वार छान्दा सबैभन्दा पहिलो आधार त परिबार आफन्तजनले पत्याएको मान्छे छान्नुपर्छ । जसलाई एकाघरकै मान्छेले, आफन्तजन र छरछिमेकले नै भोट हाल्दैनन्, त्यस्तो उम्मेद्वार कदापि छान्नु हुँदैन भन्छन् सामाजिक अगुवा स्थानेश्वर दुवाडी । हेर्दा यो सानो तर महत्वपूर्ण सूचक हो । कुनैपनि व्यक्तिको सकारात्मक वा नकारात्मक सन्देश घरपरिबार, छरछिमेक र इष्टमित्रबाट जान्छ ।
त्यस्तै भर्खर जागिर, व्यापार(व्यवसाय वा वैदेशिक रोजगारी छाडेर आएको होइन, राजनीतिक तथा सामाजिक पृष्ठभूमि भएको, समाजमा सानो वा ठूलो योगदान गरेको, गाउँठाउँ, स्थानीय स्तरका मान्छे चिनेको, जानेको, बुझेको, गाउँठाउँको रहनसहन, रीतिरिवाज, स्थानीय प्रथाजनित कानूनको बारेमा दख्खल भएको मान्छेलाई उम्मेद्वार छान्नुपर्छ ।
सानासँग पनि ठूलासँग पनि सम्बन्ध राख्न सक्ने, समुदायको सुखदुखमा साथ दिनसक्ने, सबैको कुरा सुन्ने तर गम्भीर भएर आफै निर्णय लिन सक्ने व्यक्तिलाई उम्मेद्वार छान्नु पर्ने दवाडीको सुझाव छ । वातावरण संरक्षणको महत्व बारे ज्ञान भएको, मानवअधिकार, सामाजिक विकृति, विसंगतिप्रति स्पष्ट धारणा भएकोलाई उम्मेद्वार बनाउन सकेमा सबैलाई हित हुने दुवाडीको धारणा छ ।
त्यतिले मात्र पुग्दैन । उम्मेद्वार हुने व्यक्तिमा राजनीतिक सुझबुझ पनि हुनुपर्छ । देशको वर्तमान शासन व्यवस्था, राजनीतिक प्रणाली, संघीयता, गणतन्त्र, समावेशिता आदि बुझेको व्यक्तिलाई उम्मेद्वार चयन गर्नुपर्ने अर्का अधिकारकर्मी तथा सामाजिक अगुवा यादव शर्माको सुझाव छ ।
जनचाहना अनुसारको एजेण्डा बनाई लागु गर्न सक्ने क्षमता भएको, खर्चिलो, तडकभडकमा रुचि भएको उम्मेद्वार छान्नुहुदैन । युग र विश्वपरिवेश बुझेको, समयसापेक्ष अघि बढ्न सक्ने, राज्यले लागु गरेको ऐन, नियम, कानूनको जान्न सक्ने उम्मेद्वार छान्नुपर्ने शर्माको सुझाव छ ।
हाम्रा होइन राम्रालाई उम्मेद्वार बनाउनु पर्छ भन्ने त जगजाहेर छ तर कार्यान्वयन पक्ष यस विपरीत छ । त्यसैले गाउँठाउँको, पालिका, जिल्ला, प्रदेश र सिंगो मुलुकको मात्र नभै स्वयं आफ्नो पार्टीको पनि भलो गर्नुछ भने असल उम्मेद्वार चयन गर्नुपर्छ ।




