| सोमवार, कार्तिक २३, २०८३

आफ्नै स्रोत साधनले स्थानीय तह निर्वाचन गछौँ : प्रवक्ता पौडेल

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आफ्नै स्रोत साधनले सम्पन्न गर्ने बताएको छ । यसअघिजस्तो विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्रतिवद्धता नआएपछि आयोगले आफ्नै आर्थिक स्रोतमा निर्वाचन सम्पन्न गर्ने बताएको हो ।

आयोगमा भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म दातृ संस्थाबाट निर्वाचन प्रयोजनमा सहयोग गर्ने प्रतिवद्धता नआएको बताए । निर्वाचनको समय नजिकिएकाले आवश्यक पर्ने करिब सबै निर्वाचन सामग्री आफ्नै आर्थिक स्रोतले खरिद गरिसकेको बताउनुभयो । नेपाल सरकारको आर्थिक सहयोगमै यस पटकको निर्वाचन सम्पन्न हुने उहाँले बताए । “केही तालिम प्रशिक्षण कार्यक्रम बाहेक सबै निर्वाचन सामग्री आयोगले सरकारकै बजेटमा खरिद गरेको छ” प्रवक्ता पौडेलले भने ।
सोहीअनुसार स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई नमुना पठाएको उहाँले बताए । सो नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरिएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्