
मेयरको उम्मेद्वार टुंग्याउने बिषयमा जसपा बैठकमा हुलहुज्जत र तोडफोड
पालुङ्टार नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाउने बिषयमा जनता समाजवादी पार्टी(जसपा)मा कचिंगल भएको छ । आकांक्षीहरुमध्य एकजनाको नाममा सहमति गराउन शुक्रबार राती बसेको बैठकमा ढुंगामुढा र तोडफोड भएको पार्टीले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पालुंटार नगरपालिकामा जसपाबाट नौ जनाले मेयरमा आकांक्षा राखेका थिए । उनीहरुमध्य एकजनाको नाममा सहमति गराउन बसेको बैठकमा मादक पदार्थ सेवन गरेका उच्छृङ्खल समूहले बाहिरबाट हस्ताक्षेप गरेका छन् ।
बैठक पिस हेभन पार्टी प्यालेसमा चलिरहेको थियो । ‘पहिले वडाअध्यक्ष पदका लागि उम्मेद्वार टुंगो लगाउने भन्ने थियो । त्यसपछि उपमेयर र मेयरको नाम टुंग्याउने भन्ने थियो’, जसपाका नगर अध्यक्ष रमेश पोखरेलले भने, ‘तर बैठकमा वडाअध्यक्ष र उपमेयरको बिषयमा कुरै हुन पाएन । मेयरकै बिषयमा कुरो आयो’, पोखरेलले भने, ‘तर एउटा उच्छृङ्खल समूह बाहिर मादक पदार्थ सेवन गरी उफ्रिने, कराउने, हुलहुज्जत गर्ने गर्न थाले । बैठक भइरहेको हलबाहिरबाट ताला लगाइदिए । अनि राती अबेर भएपछि ढुंगामुढा गरेर झ्यालको सीसा तोडफोड गरिदिए । कुटपिटको प्रयास पनि गरे ।’ तनाबपूर्ण अबस्था सिर्जना भएपछि अर्को दिन बैठक बस्ने गरी बैठक स्थगित भएको थियो ।
‘तर प्रेम गुरुङको नाममा सर्वसम्मत भएको भनेर झुठो प्रचार गरियो’, अर्का एकजना उम्मेद्वारका आकांक्षीले भने, ‘राजनीतिक पार्टीभित्र अराजनीतिक हर्कत गर्ने काम भयो । यो सह्य छैन ।’
नाम टुंगो लाग्न नसक्ने अबस्थामा माथिल्लो कमिटीमा नाम सिफारिस गरी पठाउने पार्टीको प्रावधान छ ।
अराजनीतिक गतिविधि कसले कसरी सञ्चालन गरिरहेको छ भन्ने बारे पार्टीले छानबीन गरिरहेको पार्टी अध्यक्ष पोखरेलले बताए ।
मेयरका लागि पालुंटारमा नौ जनाले आकांक्षा प्रस्तुत गरेका छन् । अमृतबहादुर आचार्य, अशोक देवकोटा, रमेश पोखरेल, लालबहादुर बिक, प्रेम गुरुङ, दीपक पाण्डे, शान्ता न्यौपाने, शम्भु कौडाल र पिटरकुमार श्रेष्ठ आकांक्षी रहेको पार्टीले जनाएको छ । त्यस्तै उपमेयरका लागि पाँच जना अकांक्षी रहेका छन् ।
तनाबपूर्ण भएको सो बैठकमा नगर कमिटीका पदाधिकारी, वडा पार्टी कमिटीका अध्यक्षहरु, उपलब्ध केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यहरु सहभागी थिए ।




