१० दिनदेखि बेपत्ता किशोरहरु अझै भेटिएनन्
१० दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाकका दुई किशोरहरु अझै भेटिएका छैनन् । गत माघ २० गतेदेखि हराएका बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घले अझै नभेटिएका स्थानीय नेमराज घलेले जानकारी दिए ।
हराइरहेका किशोरहरुको खोजी कार्य भइरहेको घलेले बताए । ‘माघको १९ गते अलिअलि मात्र हिउँ परेको थियो । उनीहरु २० गते हिउँखेल्न गएका थिए तर दुर्भाग्यवश त्यो दिन बाक्लो हिउँ प¥यो त्यसैले फर्कन सकेनन्’, उनले भने, ‘बारपाकबाट प्राय धार्चेडाँडातिर हिउँ खेल्न जाने चलन छ ।
तर उनीहरु पहिलोपल्ट धार्चे गएको हुँदा हिउँभित्र फँसेर हराइरहेको हुनसक्छ भन्ने हाम्रो अनुमान हो ।’ दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँजनाले उनीहरुको खोजीकार्य गरिरहे पनि सँधै निराश भएर फर्कनु परेको उनले बताए ।
किशोरहरु सम्पर्क बिहिन भएको घटनाका बारेमा आफन्तले प्रहरीलाई २३ गते मात्र जानकारी गराएको डिएसपी प्रकाश दाहालले जानकारी दिए । स्थानीयबासी र प्रहरीले संयुक्त रुपमा खोजी कार्य गरिरहेको उनले बताए ।




