
गोरखाकी एकतासहित इथियोपिया जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिईने
झन्डै तीन वर्षअघि पूर्वी अफ्रिकी मुलुक इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारसहित अन्य पीडितलाई क्षतिपूर्ति दिन जहाज निर्माता कम्पनी बोइङ तयार भएको छ।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङ सन् २०१९ मा इथियोपियामा दुर्घटनामा परेको आफ्नो ७३७ म्याक्स जहाजका यात्रुका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको हो।
२०७५ फागुन २६ गते इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबी जान लागेको जहाज दुर्घटनामा परेको थियो। उक्त जहाजका १४९ जना यात्रुमध्ये गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारी पनि एक थिइन्।
अधिकारी विश्व खाद्य कार्यक्रम इथियोपियामा कार्यरत थिइन्।
०७५ को दशैंपछिमात्र उनी इथियोपिया गएकी थिइन्। त्यसअघि उनले तीन वर्ष विश्व खाद्य कार्यक्रम नेपालमा लजिस्टिक अफिसरको रूपमा काम गरेकी थिइन्। अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट बन्ने उनको सपना थियो।
काठमाडौंको निलगिरी स्कुलबाट एसएलसी पास गरेकी एकता आइएस्सी सकेर बेलायत पढ्न गएकी थिइन्। पढाइ सकेर उनी नेपाल फर्किइन्। २०७२ को भूकम्पपछि उनले विश्व खाद्य कार्यक्रममा लजिस्टिक अफिसरको रूपमा काम सुरू गरेकी थिइन्।
इथियोपियामा दुर्घटना हुनुअघि बोइङको ७३७ म्याक्स मोडलको जहाजले राम्रो बजार लिएको थियो। लगातार दुई जहाज दुर्घटनामा परेपछि बोइङका उक्त मोडलका जहाज संसारभरि ग्राउन्डेड भएका थिए।
बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि अमेरिकाको संघीय उड्डयन प्राधिकरणले जहाज फेरि उडाउन बाटो खोलिदिएको हो।




