| सोमवार, कार्तिक २३, २०८३

वातावरणमैत्री विकास नहुँदा विपत्ति

शिव उप्रेती : गत असार १८ गते राती सडक पहिरिएर घर पुर्दा सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरे निबासी ८० बर्षका रमन पाण्डे र उनकी श्रीमती नन्दुकुमारी पाण्डेको घटनास्थलमै मृत्यू भयो ।


अर्कुल चिप्लेटी सडक खण्डमा पर्ने उनको घर सडक खन्दा थुपरिएको माटो बगेर आई घर पुरिएको स्थानीय विनोद पाण्डे बताउँछन् । ‘हरेक बर्ष सडक सफा गर्दा डोजरले उनीहरुको घरभन्दा माथिपट्टि माटो थुपार्दथ्यो ।

सँधै डोजरले खन्ने र माटो थुपार्ने गर्दा निकै जोखिम भइसकेको थियो । यसपटक यस्तो दुखद घटना भयो’, उनले भने, ‘लापार्बाहीपूर्वक काम गर्दा उनीहरुको घर मात्र होइन, उपल्लो गोहोरे नै जोखिममा छ । त्यहाँका सात आठ घर पनि कुनै दिन दुर्घटनामा पर्न सक्छ ।’ डोजरले जथाभावी सडक खन्दा त्यहाँ मात्र नभै जताततै जोखिम बढेको उनको तर्क छ ।


गत असार १ गते बूढीगण्डकीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीको छ घर बगायो । अन्य १० घर जोखिममा पा¥यो । बेनिघाट, आरुघाट, लार्के सडक खन्दा थुप्रिएको माटो बर्षाका बेला पहिरिएर बूढीगण्डकीमा खस्दा त्यहाँ क्षति पुगेको स्थानीय गणेश कार्कीको भनाइ छ ।
असार १६ गतेको अबिरल बर्षापछिको पहिरोले पालुङ्टार नगरपालिका ३ राउतेपानीको आठ घर नष्ट पा¥यो ।

लुइँटेलभञ्ज्याङ आँपपिपल भच्चेक सडक अन्तर्गत लिगलिगकोटबाट झरेको पहिरोले अरु १९ घरका बासिन्दा पनि बिस्थापित भएका थिए ।
अप्राविधिक ढंगले सडक खनेका कारण ऐतिहासिक लिगलिगकोटदेखि पहिरो झरेर राउतेपानीमा विपत्ति आएको स्थानीय वातावरणसम्बन्धी विज्ञ हरि देवकोटाको भनाइ छ ।


‘प्राकृतिक संरचना प्रकृति नबुझी जनप्रतिनिधि र डोजर अपरेटर नै इञ्जिनियर बनेर सडक खन्दा जहाँतहीँ यस्तै समस्या भयो’, इञ्जिनियर देवकोटा भन्छन्, ‘पहाडमा बन्नुपर्ने बाटो वातावरणमैत्री, भौगर्भिक अवस्थाअनुसारको प्रविधि प्रयोग गरेर बनाउनु पर्ने हो ।

जहिलेसम्म इआईए, आइई वा आरईएफ नगरी नेताले भोटका लागि जताततै सडक खन्छन्, यस्तो ज्यानमारा विपत्ति आइरहन्छ ।’ पहाडमा सडक खन्दा बायो इञ्जिनियरिङ पद्धति अपनाएर, डोजर प्रयोग नगरी बनाउनुपर्ने उनको भनाइ छ ।


अहिले तिब्र रुपमा जलवायु परिवर्तन भइरहेकाले जलवायु अनुकूलन हुने गरी विकास निर्माणको काम गर्नुपर्छ भनेर समुदाय स्तरमा र स्कूलस्तरदेखि नै चेतना जगाउनु पर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्