
गुम्दाका पाँचऔँले तस्कर जेल चलान, झण्डै चार करोड जरिवाना
गोरखा : अवैध रुपमा बहुमूल्य जडिबुटी पाँचऔँले ओसार पोसारमा संलग्न एक जनालाई जिल्ला अदालत गोरखाले जरिवानासहित एकवर्ष कैद सजाय सुनाएको छ।तस्करीमा संलग्न धार्चे ५ स्थित गुम्दाका ४९ वर्षका कमल गुरुङलाई तीन करोड ९० लाख ७६ हजार रुपैयाँ जरिवानासहित एक वर्ष कैदको सजाय सुनाएको हो।
जिल्ला न्यायधीश वसन्तराज पौडेलको एकल इजलासले पूर्पक्षका लागि थुनामै रहेका गुरुङलाई उक्त सजाय सुनाएको हो। गुरुङलाई वन ऐन २०४९ को दफा ४९ को घ बमोजिम फैसला सुनाइएको अदालतका सुजन श्रेष्ठले जानकारी दिए। जिल्लाका उत्तरी भेगमा अबैध रुपमा पाँचऔँले संकलन गरी जिल्ला बाहिर लैजान लागेको अवस्थामा गत वर्षको असोज ३१ गते ७४ किलो पाँचऔँलेसहित गुरुङलाई आरुघाट प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला वन अधिकृत जीवनाथ पौडेलले गुरुङविरुद्ध पक्राउ गरेपछि जति पाँच औँले बरामद भएको हो त्यसकै आधारमा प्रतिपाँच औँलेलाई एक हजारको दरले जरिवाना माग गरी जिल्ला बन कार्यालयले मुद्दा दर्ता गरेका थिए। जिल्ला वन अधिकृत पौडेलले भने ‘प्रहरीले उनलाई एकलाख ९७ हजार थान पाँचऔंलेसहित पक्राउ गरेको थियो। अहिले अदालतबाट कार्यालयको मागदावी अनुसार नै फैसला भयो।’ गुरुङसँग बरामद गरिएको पाँचऔँले अहिले जिल्ला बन कार्यालयमा सुरक्षित छ।




