
गण्डकीमा २६२ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३६ जनाको नमुना परीक्षण गरिएकामा २६२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १४८ महिला र ११४ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की १३४, बागलुङ २५, स्याङ्जा ३९,म्याग्दी १२, पर्वत १, गोरखा १७, लमजुङ ८, तनहुँ १० र नवलपरासी पूर्वमा १६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८४ हजार ४७६ पुगेको छ ।
झण्डै डेढ हप्ता अघिदेखि प्रदेशमा संक्रमित र मृतकको संख्या घढ्दोक्रममा रहेकोमा हाल आएर फेरि बढ्न थालेको छ । लामो समयदेखि कायम रहेको निषेधाज्ञा हटाएपछि प्रदेशका विभिन्न जिल्लाहरुमा संक्रमण दर समेत बृद्धि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्याङ्कले देखाएको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्की रुपा गाउँपालिका–५ का ६९ वर्षीय पुरुष, पोखरा– ५ का ५१ वर्षीय पुरुष, पोखरा– १७ की ६८ वर्षीय महिला, पोखरा– १७ की ४५ वर्षीय महिला, कास्कीको रुपा गाउँपालिका–४ की ६५ वर्षीय महिला र स्याङजा, पुतलीबजार –१० की ६८ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४६ पुगेको छ । सोमबार प्रदेशमा मृत्यु भएका ६ जनामध्ये ५ जना कास्कीका रहेका छन् । एकजना भने स्याङजाका हुन् ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८१ हजार ४९१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ६३९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।




