
बाख्रासँगै जलेकी गर्बी उपचार खर्चको अभावमा चारदिनदेखि घरमा छटपटाउँदै
धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङ बाख्राको खोरभित्र जलेकी छिन् । गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ बर्षकी गर्वी पनि जलेकी हुन् ।
‘ज्यानभरि जताततै जलेर भाउजुको अबस्था गम्भीर छ’, उनका आफन्त वीरेन्द्र घलेले भने, ‘उपचार गराउन सहर लैजानु पर्ने हो, तर बाटो खर्च नभएर घरमै हुनुहुन्छ ।’ घाइते घले सुतिरहेका बेला अचानक खोरमा आगो सल्किएको थियो ।
आगलागीबाट १३ वटामध्य नौ वटा बाख्रा जलेर खरानी भएको अर्का स्थानीय वीरबहादुर गुरुङले बताए । ‘गाउँभन्दा तल गण्डकीको किनारमा गोठ थियो । उहाँ सुतिरहेका बेला हावा चलेछ र अँगेनाको आगो गोठमा सल्किएछ’, उनले भने, ‘गोठ खरले छाएको थियो । दाउराले भरिएको गोठमा आगो सल्किएपछि उहाँ पनि जल्नु भयो । बाख्रा पनि जलेर खरानी भयो ।’ गम्भीर घाइते अबस्थामा छिमेकी गोठका गाउँलेले उनको उद्धार गरेको गुरुङले बताए ।

गोरखा सदरमुकामबाट दुई दिनको बाटो टाढा रहेको रुञ्चेत गोरखाको एक दुर्गम गाउँ हो । घाइतेको आर्थिक अबस्था नाजुक भएकाले आफन्तहरु उपचार खर्चको अपेक्षामा छन् ।
घाइतेलाई सहयोग गर्न चाहनेका लागि आफन्त वीरेन्द्र घले(९८६९५२६४६२) सम्पर्कव्यक्ति तोकेको परिवारजनले जनाएका छन् ।


तस्वीर सौजन्य : वीरेन्द्र घले ।




