| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आत्महत्या गर्ने पुरुष धेरै, सचेतना सुन्य

गोरखामा आत्महत्याको घटना वर्षेनी बढिरहेको छ । गत एक वर्षको अवधीमा जिल्लाभर ७९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । २०७६/७७ मा ७३ जना र ७५/७६ मा ६८ जनाले आत्महत्या गरेका छन् ।


आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै पालुङटार नगरपालिका भित्र २२ जना, गोरखा नगरपालिकामा १३ जना, आरुघाट ११, शहीदलखनमा नौ जना, सिरानचोक र भिमसेनमा आठ/आठ जनाले आत्माहत्या गरेका छन् । बारपाक सुलिकोट तीन, अजिरकोट र गण्डकीमा दुई/दुई जना, धार्चेमा एक जनाले आत्माहत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।


चुनुब्रीमा भने आत्माहत्याको घटना सून्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए । आत्माहत्या गर्नेमा ३६ देखि ४५ वर्षका १७ जना, १८ देखि २५ का १६ जना, २६ देखि ३५ र४६ देखि ६० वर्षका १४/१४ जना, ६० वर्ष माथिका १३ जना र १८ वर्ष मुनिका पाँच जना रहेका छन् ।


बालक एक, बालिका चार, पुरुष ४५ र महिला २९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै छ । २०७६/७७मा ३५ जना पुरुष, २९ महिला, बालिका सात जना र बालक दुई जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए । त्यस अघिको वर्ष ३७ जना पुरुष, २३ जना महिला, छ जना बालिका र दुई जना बालकले आत्महत्या गरेका छन् ।


तिन वर्ष यताको तथ्याङ्कले गोरखामा वर्षेनी आत्महत्या बढेको देखिन्छ । आत्महत्याको घटना बढिरहुँदा सचेतना भने सुन्यप्राय छ । स्थानीय तह, बिभिन्न संघ संस्था, समुहहरुले आत्माहत्या बारे सचेतना कार्यक्रम नै संचालन गरेका छैनन् । आत्महत्याको घटना बढ्नुको मूख्य कारण उत्तेजना र मानसिक असन्तुल हो ।


आफ्नो पालिकाको कुन समुदायका मानिसले आत्माहत्या गरिरहेका छन् र उनीहरुलाई कस्तो काउन्सिलिङ गर्ने भन्नेमा स्थानीय तहको कुनै योजना छैन । उनीहरु अलमलमा छन् । कहिलेकाँही प्रहरीले सचेतनाका कार्यक्रम गर्ने गरेको भएपनि कोभिड १९ का कारण पछिल्लो समय हुन सकेको छैन ।

३ वर्षको अवधीमा आत्माहत्या गर्नेहरुको पालिकागत बिवरण

आत्माहत्याको मुख्य कारण आबेग
प्रहरीका अनुसार आत्माहत्याको मूख्य कारण आवेश, नैराश्यता पारिवारिक कलह भएको प्रहरीले जनाएको छ । ‘देशभर आत्महत्याको घटना बढ्दो देखिन्छ’ नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले भने ‘पारिवारिक कलह, गरिबी, प्रेममा धोका, असफलता, आर्थिक लेनदेन, ब्यवशायीक तनाबका कारण धेरै घटना भएको देखिन्छ ।’ केही आत्महत्याका घटनाको भने कारण नखुलेको उनी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी शेखर खनाल गोरखामा पनि प्रेममा असफलता, गरिबी, मानसिक रोग, डिप्रेशन आदीका कारण मानिसले आत्माहत्या गरेको बताउँछन् । कम उमेरका बालवालिकाले भने परिवारका सदस्यलाई घुक्र्याउन आत्महत्या गरेका घटना पनि छन् । घरेलु हिंसा बढ्नु, बैदेशिक रोजगारीका कारण परिवारमा कलह सिर्जना हुनुले पनि आत्माहत्याको घटना बढाएको उनले बताए ।


न्यूनिकरण गर्न जनचेतना आवश्यक : एसपी खनाल
आत्माहत्या न्यूनिकरण गर्न जनचेतनाको आवश्यकता रहेको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘आत्माहत्या अरु क्राईम जस्तो होईन, कतिबेला कसले गर्छ भन्ने अनुमान गरेर नियन्त्रण गर्न सकिँदैन’ उनले भने ‘आबेशमा आएर तत्काल सुसाईट गर्नेहरु धेरै हुन्छन् ।’
आत्माहत्या नियन्त्रणको अचुक उपाए भनेको समाजमा सचेतना जगाउनु रहेको उनले बताए । ‘आत्माहत्या गर्नु हुँदैन, त्यस्तो मानसिकता हुन एउटा रोग हो उपचार हुन्छ भनेर सिकाउन सकियो भने, चेतना जगाउन सकियो भने नियन्त्रण गर्न सकिन्छ’ उनले भने । राम्रो सँग ‘काउन्सिलिङ’ गर्ने हो भने आत्महत्याको बाटो रोजेकालाई निरुत्साहित गर्न सकिने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्