
चुम्चेतमा हिमचितुवाले दर्जन बढी खच्चड र घोँडा मार्यो
लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा दर्जन बढी खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १२ वटा खच्चड र एउटा घोँडा हिमचितुवाले खाएको वडाअध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।
‘दुईदिनअघि बुझिमा लामा, आङ्दी लामा र चित्रबहादुर गुरुङको १२ वटा खच्च्ड र एउटा घोँडा मारेको हो’, उनले भने, ‘बाढी पहिरोले बाटो अबरुद्ध भयो । खच्चडले भारी बोक्न पनि पाएनन् भनेर लेकतिर लगेर चर्न छाडेका रहेछन् । हिमचितुवाले भुसुक्कै खाएछ ।’ अलग अलग भेट्यो भने मारेर मासुसमेत खाने, समूहमा भेट्यो भने मारेर रगत चुस्दै छाड्ने उनले बताए ।
हिमचितुवाले मारेको घरपालुवा पशु चौपायाको राहत पाउने नपाउने बारे जानकारी पनि नभएको उनले बताए ।
संरक्षणको उच्च प्राथमिकतामा रहेको हिमचितुवा उत्तरी गोरखाका विभिन्न जंगलमा बासस्थान रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
(तस्वीरहरु सबै सौजन्य : सेराप गुरुङ, लोक्पा)




