| सोमवार, कार्तिक २३, २०८३

दुर्गमका बासिन्दालाई नाममै सास्ती

‘मेरो नाम खास फुर्बु हो । स्कूल पढ्दा तलका सर(रोङ्वा)हरुले वीरबहादुर राखिदिनुभयो’, चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष वीरबहादुर लामाले बाल्यकाल सम्झँदै भने, ‘सात कक्षा पढ्दा किताबका लेखकहरुमध्य आफूलाई मन परेको लेखकको नाम कापीमा लेख भन्नुभएको थियो ।

नैतिक शिक्षा भन्ने किताबका लेखक वीरबहादुर हुनुहुँदो रहेछ । थर त के थियो कुन्नि बिर्सिएँ । ‘वीर’ पनि ‘बहादुर’ पनि देखेर त्यो नाम कापीमा लेखेर देखाएको थिएँ । सरले त मेरो नामै त्यही राखिदिनु भयो ।’ आफ्नो ठाउँमा रोङ्वाको जस्तो नाम राख्ने चलनै नभएको उनले बताए ।


वडा नं. २ का वडाअध्यक्ष पेम्बारेताको नाम पनि पेम्बा सिदार हो । तर नागरिकता बनाउने कर्मचारीले लापार्बाहीपुर्वक पेम्बारेता राखिदिए । कर्मचारीले थपिदिएको ‘रेता’को अर्थ केही नभएको भन्दै उनी असन्तुष्टि व्यक्त गर्छन् ।


वडा नं. ७ निलेका छेवाङ लामाको नाम पनि तलका मान्छेले बिगारेर छाङ राखिदिए । स्थानीय भाषामा ‘छाङ’ को केही अर्थ नभए पनि उनी त्यही नाम स्वीकार गर्न बाध्य छन् ।


हिमाली तथा लेकाली भेगमा बसोबास गर्ने व्यक्ति तथा ठाउँका नाम तल्लो भेगका पढेलेखेका मान्छेले बिगारिदिएका यी त केही सामान्य उदाहरण मात्र हुन् ।


‘मानेडाँडालाई हाम्रो भाषामा मनेकङ भन्छन् । मनेडाँडामा रहेको देवीको नामबाट स्कूलको नाम पनि मनेकङदेवी राख्ने भन्ने निर्णय भएको थियो तर तलका मान्छेले लेख्ने बेलामा मणिकामदेवी राखिदिएछन्’, सो विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङ भन्छन् । स्थानीय भाषामा ‘मणिकामदेवी’को कुनै अर्थ नरहेको उनको भनाइ छ ।


चुम उपत्यकाको आनीहरु मात्र बस्ने प्रसिद्ध गुम्बाको बास्तविक नाम ‘च्याङ्छुप छ्योलिङ गुम्बा’ हो । पर्खालले घेराबार गरेर बनाइएको हुनाले त्यसलाई स्थानीय भाषामा राछेन भनिएको थियो, तर तलका मान्छेले गुम्बा दर्ता गर्दा ‘राजेन गुम्बा’ लेखिदिए । अहिले त्यही नामले चर्चित छ । त्यो नाम अर्थ न बर्थको रहेको निलेका प्रमुख लामा हिसे घ्याम्जो बताउँछन् ।


तल्लो भेगका मान्छेले लापार्बाहीपूर्वक हिमाली भेगको नाम बिगार्ने गरेको अर्का स्थानीय कुन्छोक लुण्डुप लामा गुनासो गर्छन् । ‘तल्लो भेगका मान्छेले उनीहरुको सजिलोका लागि जेपायो त्यही नाम लेखिदिन्छन्’, उनी भन्छन्, ‘उनीहरुलाई घुस खानेबाटो हुन्छ अनि हामीलाई नागरिकता, लालपूर्जा, जन्मदर्ता, मार्कसिट, सर्टिफिकेट बनाउँदा धेरै झञ्झट हुन्छ ।’ गाउँगाउँमा टोली गएर बनाएको नागरिकतामा यस्तो समस्या धेरै आउने उनको गुनासो छ ।


‘नागरिकता बनाउने टोली होस वा जग्गाका नापी आउँदा होस्, जन्मदर्ता गर्ने सचिव होस् वा स्कूलमा भर्ना गर्ने शिक्षक होस, गाउँलेले एकथोक भनिरहेका हुन्छन्, उनीहरुले अर्कोथोक लेखिदिन्छन्’, उनी भन्छन्, ‘हुन त तिब्बती शव्द उच्चारण गर्न र जस्ताको तस्तै लेख्न अप्ठ्यारो भएर पनि हुनसक्छ ।’ यसले दुर्गमभेगका निमुखा, अनपढ समुदायले कागजी प्रक्रियामा धेरै समस्या झेल्नु परेको उनको भनाइ ।


‘एउटै मान्छेको नाम एउटा कागजमा एउटा लेखेको हुन्छ, अर्काेमा अर्काे लेखेको हुन्छ । बुबाआमाको नाम पनि कागजैपिच्छे फरक फरक भइरहेको हुन्छ’, उनी भन्छन्, ‘अनि फेरि तिनै कर्मचारीले यो भएन र त्यो भएन भनेर हप्काई–हप्काई घुस खाइदिन्छन् । बिचरा गाउँका मान्छेलाई साह्रै हैरान हुन्छ ।’


चुमनुब्रीको मात्र होइन, बारपाक र धार्चेको पनि अधिकांश नाम तल्लो भेगका मान्छेले बिगारेर राखिदिएको स्थानीयबासीको गुनासो छ ।


‘अहिले बारपाक भनेर चर्चित गाउँको बास्तविक नाम ‘पारा त’ हो । लाप्राकको खास नाम लाम् रा हो । गाउँका मान्छेले अहिले पनि पारा, लाम्रा नै भन्छन् तर तल्लो भेगका मान्छेले बारपाक, लाप्राक लेखेर चलाइदिए’, स्थानीय धनकुमार गुरुङ भन्छन्, ‘गुम्दाको खास नाम ‘गुम्त’ यमगाउँको ‘पन्द्रङ’, लप्सीबोटको ‘यासे’ हो । खानीगाउँको ‘टोँडा’, लापुको ल्हपु, काशिगाउँको ‘तस्याङ’, केरौँजाको ‘क्याम्जा’, खोर्लाको ‘खोल’, सिङ्लाको ‘सलङ’, माछाखोलालाई ‘कलुङ’, खानीबेशीको नाम ‘गुम्सेलुङ’ हो ।’

गाउँमा गएका तल्लो भेगका शिक्षक, कर्मचारीले जथाभावी बिगारेर नाम राखिदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्