| सोमवार, कार्तिक २३, २०८३

जगत बगरमा ग्याभिनमार्ग निर्माण


हिमपहिरोबाट आएको बूढीगण्डकीको बाढीले बगाएको जगत बगरको एकसय मिटर बाटो बनेको छ । प्रदेश सरकार, विपत व्यवस्थापन समिति, जलस्रोत तथा सिँचाइ विकास डिभिजन र स्थानीयबासीको सक्रियतामा ४० मिटर ग्याभिनमार्ग निर्माण भएपछि सो खण्डमा अवरुद्ध बाटो सुचारु भएको हो ।


त्यस्तै यारु बगर कटानका कारण अवरुद्ध रहेको उत्तरी गोरखा जाने पदमार्ग पानीमा टेक्दै हिड्न मिल्ने अबस्था रहेको स्थानीय वीरबल घलेले जानकारी दिए ।


‘४५ वटा ग्याभिन भरेर ४० मिटर बाटो बनाइएको छ’, जगतका स्थानीय गणेश कार्कीले भने, ‘अब त्यहाँबाट निर्वाध हिड्न सकिने गरी बाटो खुलेको छ ।’ सरकारले तत्काल हेलिकोप्टरले तारजाली ढुवानी गरेर समस्या समाधान गरिदिएको उनले बताए ।


हेलिकोप्टरले एकसयथान तारजाली बोकेको थियो । सो तारजालीमध्य २१ वटा सल्लेरी पहिरोमा राखिएको, २५ वटा जगतबगरमा राखिएको र नौवटा जगत बजारको तल्लो भागमा प्रयोग गरिएको उनले बताए ।


यसअघि यारु बगरमा नदीले धार परिबर्तन गरी पदयात्रु हिड्ने भूभाग कटान गरी नदीको प्रवाहले ओगटेको थियो । तर बिहिबारदेखि नदीले धार परिवर्तन गरी पदमार्ग सुरक्षित रहेको चुमनुब्री मिलन समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।

तस्वीर सौजन्य : गणेश कार्की, जगत

प्रतिक्रिया दिनुहोस्