| आइतवार, कार्तिक २२, २०८३

उत्तरी गोरखा जाने बाटो झन झन जटिल बन्दै, खाद्यान्न हाहाकारको त्रास

बूढीगण्डकी कटान र डुबानले उत्तरी गोरखा जाने बाटो अबरुद्ध भएपछि सरकारले हेलिकोप्टरबाट तार जाली ढुवानी गरी बाटो मर्मत गर्ने प्रयास गरे पनि फेरि सो नदीले अन्य ठाउँमा क्षति गरेको छ । धार्चे गाउँपालिका १ यारुबगरको क्याण्टिलिभर पुलभन्दा माथि करिब दुईसय मिटर बाटो बूढीगण्डकी कटानमा परेपछि स्थानीयबासी निरास भएका छन् ।


‘क्याण्टिलिभर भन्दा केही माथि थोरै मात्र कटान भएको थियो । मान्छेहरु जोखिम मलेर हिड्न थालेका थिए, तर रातभरिमा दुईसयमिटर भन्दा लामो बाटो कटान गरेर हिड्नै नमिल्ने बनाइदियो’, स्थानीय विशाल हिमाली घलेले भने, ‘बूढीगण्डकीले कुनासम्म रेटेर बाटो हिड्न असम्भब बनाइदियो ।’ बाटो अबरुद्ध भएपछि चुमनुब्री गाउँपालिकाका सातै वडाका बासिन्दा जगतभन्दा माथि नै रोकिन बाध्य भएका उनले बताए ।


यारुबगर भन्दा माथि जगत बगरमा हेलिकोप्टरले ओसारेको तारजाली भरेर बाटो खुलाउने काम जारी छ । तर यारुबगरमा बाटो बिग्रिएपछि स्थानीयबासी चिन्तित बनेका छन् ।


‘छिटो भन्दा छिटो बाटो खुलाउन सकिएन भने अब चुमनुब्री गाउँपालिकाका सातै वडामा खाद्यान्न संकट हुन्छ’, वडा नं. ४ का लाक्पाडुण्डुप लामा भन्छन्, ‘हेलिकोप्टरबाट बोकेको खाद्यान्नले कति दिनलाई पुग्छ र ? हेलिकोप्टरले एक ठाउँमा लगेर थुपार्छ । त्यहाँबाट अरु गाउँमा कसरी लैजाने ?’ बिभिन्न ठाउँबाट आफ्नो फर्ममा काम गर्न गएकाहरुलाई आफूले हेलिकोप्टरमा चामल ढुवानी गरेर खाने ब्यबस्था गरेको भन्दै उनले यसरी धेरै दिन थेग्न नसक्ने बताए ।


सबै गाउँबस्तीमा जाने बाटो बिग्रिएकाले खाद्य संकटको जोखिमबाट बचाउन खच्चड हिड्न सक्ने बाटो बनाउनु पर्ने वडा नं. ७ का अध्यक्ष पासाङफुञ्जो लामाको भनाइ छ । ‘गाउँगाउँमा खाद्यान्नको अभाव हुदै गएको छ । अहिले सरकारले फिलिम डिपोसम्म हेलिकोप्टरबाट चामल ढुवानी गरेको रहेछ’, उनले भने, ‘अब त्यहाँबाट गाउँगाउँमा कसरी लैजाने ? जताततै बाटो अबरुद्ध छ । मान्छे त ज्यानको माया मारेर हिड्छन्, तर चामल बोकाएर खच्चडलाई कसरी हिडाउने ?’ कि हेलिकोप्टरले सबै वडावडामा लगिदिनुपर्ने उनको तर्क छ ।

यारुबगरको क्यान्टिलिभर पुलनेर बूढीगण्डकीले कटान गरेको बाटो ।
तस्वीर : सुजन गुरुङ, फिलिम ।


यारु बगरभन्दा पारि नेपाली सेनाले खन्दै गरेको सडकमा तत्काल मान्छे र खच्चड हिड्न मिल्ने बनाउनु जरुरी रहेको वडा नं. २ का छिरिङ धार्केको सुझाव छ । ‘कि भित्तामा क्याण्टिलिभर पुल बनाउनु प¥यो, कि सेनाले बनाउँदै गरेको बाटोमा अहिलेका लागि काम चलाउन हिड्न मिल्ने बनाउनु प¥यो’, उनी भन्छन्, ‘यसका लागि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय नेपाली सेना बसेर छिटो भन्दा छिटो निर्णय गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्