
घण्टौँ पहिरोमा च्यापिँदा सिरानचोकमा वृद्ध दम्पतीको मृत्यू
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ ।
गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको मृत्यू भएको वडा अध्यक्ष सुरज ढकालले बताए ।
एक सय मिटर माथिबाट पहिरो खसेको र भुकम्पपछि पुन निर्माण गरिएको घरमा सुतिरहेको दम्पतीलाई पुरेको उनले बताए ।
‘सुतिरहेको अवस्थामा शव भेटिएकाले राती पहिरोले च्यापिएको हुनसक्छ’ वडा अध्यक्ष ढकालले भने ‘बिहान मात्रै खबर भएपछि हामीले खोजी गरेका हौँ ।’ घण्टौँ पहिरोमा पुरिएको उनले बताए । स्थानीय र प्रहरीको सक्रियतामा आज बिहान साँढे ९ बजे मात्रै शव निकालिएको थियो ।
राती पहिरो गएको र तत्काल थाहा नहुँदा घण्टौँ च्यापिएर वृद्ध दम्पतीको मृत्यू भएको हुन सक्ने अनुमान स्थानीयको छ । घरमा दुई जना वृद्ध दम्पती मात्रै बस्दै आएका थिए ।
भुकम्पपछि निर्माण गरिएको ढुङ्गामाटोको घर सँगै रहेको पुरानो घरमा पनि पहिराले क्षती पु¥याएको छ ।
तस्विर : विश्वनाथ पाण्डे






