
गोरखामा एकै गाउँका छ जना कैदीलाई माफि दिईयो
गोरखा : कर्तव्य ज्यान मुद्दाको सजाय भोगी रहेका गोरखाका छजना कैदीबन्दीले आममाफी पाएका छन्। एकै गाउँका छ जना कैदीबन्दीले मंगलबार गणतन्त्र दिवसको अवसरमा गोरखा कारागारबाट आममाफी पाएका हुन्। देशभरीबाट ८०० भन्दा बढी कैदीबन्दीलाई जेलसजाय मिनाहा गर्ने कारागार व्यवस्थापन विभागको निर्देशनपछि उनीहरूको बाँकी सजाय माफ गरिएको गोरखा कारागारका जेलर शशिधर सुवेदीले जानकारी दिए।
‘देशैभरीबाट असल चालचलनमा आइसकेका कैदीबन्दीलाई माफी दिने भन्ने विभागको निर्देशनअनुसार हामीले गोरखाबाट छजनालाई जेलसजाय मिनाहा गरिएको हो’ सुबेदीले भने, ‘आज माफी पाएकाहरू सबै बारपाक सुलिकोट गाउँपालिका ३ स्थित स्वाँराका हुन्। सबै २०६७ मंसिर १३ गते जेल परेका थिए।’ कैद सजाय माफी पाउनेहरू मनबहादुर आले मगर, बुद्धिबहादुर लामा तामाङ, सुरेश आले मगर, सन्तबहादुर तामाङ, मनबहादुर मास्की मगर र लालबहादुर मगर रहेका छन्। उनीहरूसँगै एउटै मुद्दामा जेल परेका अन्य तीनजना भने सजाय मुक्त भएका छैनन्। अन्य तीनजनालाई भने गोरखा कारागारबाट मकवानपुरस्थित भीमफेदी कारागारमा पठाइएको छ।




