
बिर्दीको एक परिबार खारखोलाको बाढीमा फँसे, छ घर बिस्थापित
पालुङटार नगरपालिका ९ बिर्दीका एक परिबार स्थानीय खारखोलाको बाढीमा फँसेका छन् ।
अबिरल बर्षापछि आएको बिदी खोलाको बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।
खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दीबजारतिर आएर घरलाई बीचमा पारेको उनले बताए ।
झलकबहादुर अधिकारीको ७० बर्षकी आमा र तीन जना नातिनातिनी भेलको बीचमा फँसेको स्थानीय श्रेष्ठले बताए । उनका अनुसार दुई जना भने डोरीको सहायताले उद्धार गरिएको छ भने वृद्ध र बालबालिकालाई उद्धार गर्न नसकिएको उनले बताए ।
साथै सोही खोलाको बाढीको उच्च जोखिम बढेपछि ढुङ्गेटारीका छ घर बिस्थापित भएका छन् । खोला घर छेउमै आएपुगेपछि स्थानीय राकेश परियार, चन्द्रबहादुर गुरुङ, अनील गुरुङ, बाबुकाजी गुरुङ, द्रौपदी गुरुङ र दीपा गुरुङको परिबार बिस्थापित भएका श्रेष्ठले बताए ।
उनीहरुलाई बिहिबार बिहानै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उनीहरु घरबाट सामान सबै निकालेर आफन्तको घरमा शरण लिन गएका श्रेष्ठले बताए ।

तस्वीर : सञ्जय गुरुङ,




