| सोमवार, कार्तिक २३, २०८३

हिमालको फेदीमा फँसेको शवको हेलीरेस्क्यू दोस्रो पटक पनि असफल


वुद्ध हिमालको फेदीमा बिगत चारदिनदेखि फँसेको शव बुधबारसम्म पनि निकाल्न सकिएको छैन । गत शनिबार भीरबाट खसेर बेपत्ता भएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २४ बर्षका सुकबहादुर भनेर बोलाइने सुरेन्द्र गुरुङको शव बुधबारसम्म पनि निकाल्न नसकिएको हो ।


उनको शव निकाल्न गत सोमबार र बुधबार दुईपटकसम्म हेलिकोप्टर चार्टर गरिएको थियो ।

वनलसुन संकलन गर्न लेकमा सुरेन्द्रसहित उनका बुबा र भाइ पनि लेकमा गएका थिए । साथमा दुईजना छिमेकी पनि थिए । उनीहरुमध्य एकजना भीरबाट खसेर बेपत्ता भएपछि हेलिकोप्टरबाट उद्धार गरिदिन अनुरोध गरेका थिए ।

उनीहरुलाई हेलिकोप्टरबा उद्धार गरी धार्चे ४ लाप्राकमा अवतरण गराइएको थियो । शव निकाल्नका लागि चुमनुब्री सेवा समाजले बुधबार पनि हेलि चार्टर गरेको तर असफल भएको समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।

‘शव मान्छेले बोकेर केही माथिसम्म त ल्याएर राखेका छन्, तर हेलिकोप्टर त्यहाँ पुग्न सकेन’, घलेले भने, ‘मान्छेले बोकेर त्यहाँभन्दा माथि निकाल्न नसक्ने, हेलिकोप्टर त्यहाँसम्म जान नसक्ने हुँदा समस्या भयो ।’ शव निकाल्न मृतकका आफन्त तथा लाप्राकका बासिन्दा लागि परेका उनले बताए ।

तस्वीर : वीरुप घलेको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्