
थातथलो छाड्दै सल्लेरीबासी, बाढीपिडितको दुखेसो : ओत लाग्न त्रिपाल पनि पाइएन
अबिरल बर्षापछिको बूढीगण्डकीको बाढीले बस्ती बगाएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दाहरु बुधबार दिनभर थातथलो छाड्न व्यस्त छन् । बाटोमुनिका नौ घरका बासिन्दाले घर खालि गरेर गाउँमाथिका पखेरामा गएर बसेका स्थानीय गणेश कार्कीले जानकारी दिए ।
२७ घर रहेको सल्लेरीको बाटोमुनिको सबै घर बिस्थापित भएका र बाटोमाथिका घरहरु पनि घर छाड्दै गरेका उनले बताए ।
झमझम पानी परिरहेकाले नयाँठाउँमा बस्न पनि कठिन भएको उनले बताए । ‘घर बूढीगण्डकीले लगेपछि मान्छेहरु माथि पाखामा सरेका छन्’, उनले भने, ‘त्रिपाल पनि छैन । बस्ने, सामान राख्ने ठाउँ पनि छैन । सामान पाखा पखेरामा असरल्ल छ ।’ कसैले कतैबाट त्रिपाल ल्याउँछन् कि भन्ने आशामा दिन बितेको उनले बताए ।
बाटो जताततै अबरुद्ध भएको र मौसम पनि प्रतिकूल भएका कारण त्रिपाल पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए ।

सामाजिक संस्थाहरु मिलेर त्रिपाललगायतका राहत सामग्री पठाउन तयारी गरिएको तर बाटो अबरुद्ध हुँदा नसकिएको काठमार्डौ रहेका अर्का स्थानीय वीरबल घलेले जानकारी दिए ।
तीनदिनदेखिको अबिरल बर्षाका कारण सल्लेरीको चार घर बूढीगण्डकीले बगाइसकेको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलको शिविर पनि जोखिममा छ ।

सदरमुकामबाट ३० कोश टाढा रहेको यहाँ झरी पर्न थालेपछि बिगत केही दिनदेखि सञ्चार सम्पर्क पनि अबरुद्ध छ ।




