
सिर्दिबास सल्लेरीका बाढीपिडित उद्धारको पर्खाइमा
बूढीगण्डकीको बाढीले घरबास उठेका चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दा उद्धारको पर्खाइमा छन् । बाढीले घर बगाएको र जोखिमका कारण बिस्थापित भएकाहरु त्रिपालको पर्खाइमा रहेका स्थानीय वीरवल घलेले जानकारी दिए ।
‘बूढीगण्डकीले चार वटा घर त पूरै लगिसक्यो । अरु पनि लाने क्रममा छ’, घलेले भने, ‘पानी परिरहेको छ । बिस्थापितहरु बिचल्लीमा छन् ।’ त्रिपाल लगायतका राहत सामग्री पठाउनका लागि आरुघाट–आर्खेत सडकखण्ड डुबानमा परेपछि अबरुद्ध भएको उनले बताए ।
उनका अनुसार सडक निर्माण कार्यदल रहेका सल्लेरीको नेपाली सेनाको शिविर पनि जोखिममा छ । त्यहाँ रहेका सेनाको टोली पनि बिस्थापित भएका छन् । ‘सडक निर्माणमा प्रयोग भइरहेको बिस्फोटक पदार्थ पनि सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने छ । सल्लेरीका बासिन्दालाई पनि अस्थायी बास बनाउनका लागि त्रिपाल पठाउनु पर्ने छ । सरकारले हेलिकोप्टरबाट उद्धारको काम गर्न सके उपयुक्त हुनेथियो’, उनले भने ।
घटनास्थलमा त्रिपाल लगायतका राहत सामग्री पठाउने प्रयास भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए । ‘सेनाको टोलीलाई कतै खालि ठाउँमा स्थानान्तरण गर्नुपर्ने छ । घर गुमाएकाहरुलाईचाहिँ नजिकैको विद्यालयमा बसाउने तयारी गरेका छौँ’, प्रजिअ पौडेलले भने ।
तीनदिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ । गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन् ।
२७ घर रहेको सल्लेरीको चार घर बगाइसकेको छ भने अरु घर पनि जोखिममा रहेको स्थानीय गणेश कार्कीले जानकारी दिए । जोखिममा रहेकाले मान्छेहरु त्यहाँबाट भागेर रातभर पाखापखेरामा बसेर बिताएका उनले बताए ।

तस्वीर : गणेश कार्की ।




