| आइतवार, कार्तिक २२, २०८३

baluwa

वडा अध्यक्ष नै ओसार्छन् अनुमति बिना बालुवा

भीमसेन गाउँपालिका वडा नं ८ का अध्यक्ष बासु थापाले बिनाअनुमति घाट तथा खानीको बालुवा ओसारपसार गर्ने गरेको पाइएको छ ।
भूकम्प पीडितको नीजि आवास निर्माण गर्ने भन्दै वडा अध्यक्ष थापाले प्रक्रिया नपु¥याई खानी तथा बुढीगण्डकी किनारको बालुवा उत्खनन तथा ओसारपसार गर्ने गरेको स्थानीयको आरोप छ । उनले कुनै पनि निकायमा राजस्व समेत नतिरी बालुवाको कारोबार गर्ने गरेका हुन् ।
वडा कार्यालय र गाउँपालिकाको कार्यालयको सिफारिसमा जिल्ला समन्वय समितिबाट अनुमति लिएर मात्र बालुवा उत्खनन तथा ओसारपसार गर्नुपर्ने कानूनी व्यबस्था छ । तर उनले अनुमतिबिना बुढीगण्डकी नदीको किनार तथा सार्बजनिक जग्गाबाट बालुवा उत्खनन् गर्ने गरेको स्थानीयबासीको भनाइ छ ।
उनले बिगत तीन महिनादेखि नदी तथा सार्वजानिक जग्गाबाट बालुवा उत्खनन् गर्न थालेको नाम नबताउने सर्तमा स्थानीय एक महिलाले बताइन् । ‘अध्यक्षज्युले संरक्षण पो गर्नुपर्ने हो तर आफै अबैध रुपमा बालुवाको काम गर्नुहुन्छ’ उनले भनिन् ‘सार्वजनिक ठाउँको बालुवा निकाल्दै बेचिरहनु भएको छ । मैले प्रहरीलाई पनि पटक पटक खबर गरेको छु । तर, अहिलेसम्म सुनुवाइ गरेका छैनन् ।’ अध्यक्षले बालुवा उत्खनन गर्नका लागि दैनिक पाँचवटा ट्याक्टर, एउटा टिप्पर र एक जेसिबी प्रयोग गर्ने गरेको उनले बताईन् ।
अध्यक्षले अवैध रुपमा बालुवा उत्खनन गर्ने गरेपनि कुनै कारवाही हुन नसकेको अर्का स्थानीयबासी बताउँछन् । ‘सम्बन्धित ठाउँमा मैले पटक पटक जानकारी दिई रहेको छु’ नाम नखुलाइदिन अनुरोध गर्दै उनले भने ‘बालुवा तस्करी भईरहेको कुरा ईलाका प्रहरी कार्यलयमा पनि जिल्ला प्रहरी कार्यालयमा पनि खबर गरेको छु ।
प्रहरीले बेवास्ता गरेपछि सिडियो कार्यालयमा पनि जानकारी दिएको थिएँ, तर कुनै कारवाही भएको छैन् ।’ कारवाही गर्ने निकायका कर्मचारीले नै बेवास्ता गरेकाले खुलेआम नदीजन्य बस्तुको अबैध धन्दा हुने गरेको उनको भनाई छ ।
वडाका बासिन्दालाई निजी अवास निर्माण गर्न सजिलो होस् भनेर बुढीगण्डकीको किनारबाट बालुवा निकाल्ने गरेको वडा अध्यक्ष बासु थापाको भनाई छ । ‘मैले गण्डकीबाट बालुवा झिक्न कतैबाट अनुमति लिएको छैन्’ थापा भन्छन् ‘उपभोक्ताले माग गरे अनुसार बालुवा ल्याएर बेच्ने गरेकोछु ।
गाउँका जनताहरुलाई सजिलो होस् भनेरै यस्तो गरेको हुँ । नदीबाट बाहेक अन्तबाट बालुवा उल्खनन् गर्न दिइएको छैन् ।’ बालुवा उत्खनन गरे बापत कतैपनि राजस्व नतिरेको अध्यक्ष थापाले स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्