
सम्झनामा मदन भण्डारी : जेठ २९ गते दमौलीमा भेटुँ भनेर छुटेका थिए

ऋषि कट्टेल :
काठमाडौँ, पोखरा र गोरखा जाने आँबुखैरेनीको त्यो बाटोमा आइपुगेपछि म गाडीबाट झरेँ । निक्कै जोशका साथ उहाँले ‘ल कमरेड अब जेठको २९ गते दमौलीमा भेटौँला’ भन्नुभयोे । हस् भनेर अभिवादन गरेँ र म गोरखातिर गएँ । २०५० को जेठ ३ गते उहाँले त्यसो भन्नु भएको आज २८ बर्ष बितेर २९ बर्ष लाग्यो, तर कुनै पनि जेठको २९ मा उहाँसँग भेट्न पाइएन ।
२०४७ सालमा पार्टी एकता भएर नेकपा एमाले भएको थियो । २०४८ सालको माघ मा छैठौँ महाधिवेशन भएर अध्यक्षमा मनमोहन अधिकारी, महासचिवमा मदन भण्डारी निर्वाचित हुनु भएको थियो । उहाँले नै प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवादको कार्यदिशा महाधिवेशनले पारित गरेको थियो । त्यही कार्यदिशाको देशव्यापी प्रचार प्रसार गर्ने अभियानमा उहाँ र संगठन विभाग प्रमुख जीवराज आश्रित निस्कनु भएको थियो ।
पहिलो कार्यक्रम नै पोखराको थियो । गाडीमा केही समस्या देखिएकाले ड्राइभरलाई भोलिपल्ट गाडी बनाएर ल्याउन अह्राउनु भयो र उहाँ जेठ २ गते प्लेनमा काठमाडौँबाट पोखरा जानु भएको थियो । ३ गते संगठन बिभाग प्रमुख जीवनराज आश्रित र बाचस्पति देवकोटा त्यही गाडीमा पोखरा पुग्नु भयो ।
म त्यतिबेला केन्द्रीय सदस्य र गोरखाको पार्टी प्रमुख थिएँ ।
पोखरा भएको कास्की जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम सकेर म आफन्तको विवाह कार्यक्रममा सहभागी हुन जसरी पनि त्यसदिन गोरखा आइपुग्नु पर्ने थियो । त्यो थाहा पाएर उहाँले आँबुखैरेनीसम्म संगै जाऔँला भन्नुभयो । म हल बाहिर निस्केर पर्खिएँ । एकछिन, एकछिन गर्दागर्दै उहाँलाई धेरैबेर पर्खिनु प¥यो ।
त्यो बीचमा एक अपरिचित व्यक्ति मदन भण्डारी कतिबेला निस्कनु हुन्छ ? भनेर बारम्बार सोध्न आयो । तीनपटकसम्म सोध्न आएपछि मैले अल्लि झर्केर उहाँ जतिबेला निस्के पनि ननिस्के पनि तिमीलाई के चासो प¥यो भनेर झपारिदिएँ । त्यसपछि त्यो व्यक्ति आएन ।
उहाँ त निस्कनु भयो, तर ड्राइभर हरायो । खै के नाम गरेको थापाले उहाँ चढ्नका लागि पजेरो गाडी दिएका थिए । ड्राइभर अमर लामा थियो । धेरै ढिला गरेर आएपछि ड्राइभरले दिसा लागेको, पेट दुखेको सुनायो ।
पोखरा सहर कटेपछि ड्राइभरले गाडी रोक्यो र गाडीमा झण्डा गाढ्यो । उहाँले ‘किन गाढ्नु प¥यो, पर्दैन, झण्डा नगाढ’ भन्नु भयो । तर उसले टेर्दै नटेरी अल्लि ठूलै झण्डा गाढ्यो । उहाँलाई सिटबेल्ट बाँध्नुस् भन्यो । उहाँले बाटो राम्रै छ, किन बाँध्नुप¥यो र सिटबेल्ट ? पर्दैन भन्नु भयो । उसले फेरि टेरेन र आफैले उहाँलाई सिटबेल्ट बाँधिदियो । त्यसपछि कम्युनिष्ट आन्दोलनको गीत घन्काएर गाडी कुदायो ।
गाडीमा हामी जम्मा तीन जना थियौँ, मदन भण्डारी, जीवराज आश्रित र म । त्यसदिन उ बिहानैदेखि मलिन अनुहारमा थियो । गम्भीर पनि देखिन्थ्यो । हामीले सोच्यौँ, ‘पेट दुखेर होला ।’
माघमा पाँचौँ महाधिवेशन सकिएको थियो । फागुन, चैत र वैशाखमा पार्टीले पास गरेका नीति, कार्यक्रम, कार्यदिशाका दस्तावेज तयार गर्नै लाग्यो । जेठ देखि एकबर्षसम्म त्यही नीति, कार्यक्रम, कार्यदिशा देशभर पार्टी संगठनको तल्लो तहसम्म पु¥याउने अभियानमा उहाँहरु निस्कनु भएको थियो ।
गाडी हुइँक्किन सुरु गरेपछि मैले जनताको बहुदलीय जनवाद भनेको विसर्जनवाद हो, पुँजीवाद हो, यसले समाजवादतिर कहिल्यै पु¥याउँदैन भनेर प्रतिवाद गरेँ । उहाँले होइन भनेर तर्क गर्नुभयो । बाटोभरि यही मात्र कुरा भयो ।
उहाँले ‘ल ठिकै छ, जबजका डाइभर हामी नै हौँ, गाडी खाल्डातिर गयो भने मोडौँला’ भन्नुभयो । उहाँभित्र यो क्षमता थियो, विपक्षीले गरेका तर्क सुन्ने, मनन गर्ने, समीक्षा गर्ने, परिहाले आत्मआलोचना पनि गर्ने, जुन अहिलेका कुनै नेतामा पाइँदैन । त्यो बेला उहाँको उमेर जम्मा ४२ बर्षको मात्रै थियो ।
गफ जमिरहेको थियो, त्यसैले उहाँले ‘आज चितवन बस्न जाऔँ । भोलि चितवनबाटै बिहेमा जाऔँला’ भन्नु भएको थियो । उहाँहरुचाहिँ चितवनबाट भोलिपल्ट पूर्वी जिल्लाहरुमा जाने कार्यक्रम थियो ।
म खैरेनी झरेर बसमा गोरखा कट्टेलडाँडाको मेरो घर पुगेँ । भोलिपल्ट बिहेमा चुँदीरम्घा जानुथियो । त्यतैबाट काठमाडौँ जाउँला भन्ने योजना थियो । दृष्टि भन्ने पार्टीको पत्रिका निस्कन्थ्यो । त्यसको पैसा उठाएर साथीलाई राख्न दिएको थिएँ । त्यो पैसा पनि काठमाडौँ जाँदा लगिदिन्छु भनेर साथीलाई भेट्न आहाले जान निस्किएँ । बिहान भिस्मिसे नै थियो । बाटोमा छिमेकी ढुण्डीराज कट्टेल भेट भए ।
उनले ‘तपाईँले हिजो बेलुकीको समाचार सुन्नुभयो ?’ भनेर सोधे ।
मैले अहँ, सुनिन । के भयो र ? भनेँ ।
‘लौ हिजो मदन भण्डारी चढेको गाडी दासढुङ्गामा दुर्घटना भयो । दुवैजना मरे ।’ भने ।
मैले हत्तपत्त प्रहरीलाई फोन गरेर सोधेँ । प्रहरीले पनि खै त्यसै भन्छन् भनेर अस्पष्ट जवाफ दियो ।
म जे पाउँछु, त्यसैमा चढ्छु भन्ने सोचेर बाटोमा कुरेर बसेँ । एउटा ट्रक पाएँ । त्यसैमा चढेर घटनास्थलतिर गएँ ।
म त्यहाँ पुग्दा तीनचार किलोमिटर यतासम्म चक्काजाम रहेछ । म ठ्याक्क दासढुङ्गा पुग्दा क्रेनले नदीबाट जीप तुन्द्रुङ्क झुण्ड्याउदै रहेछ । भुइँमा राख्न पनि भ्याएको थिएन ।
हेर्दाखेरीमा जीवराज मैले विदाइ गर्दा जसरी बसेका थिए, त्यही पोजिसनमा जस्ताको तस्तै पछिल्लो सिटमा रहेछन् । तर मदन भण्डारी थिएनन् । अगाडिपट्टिको सिसा अलिकति फुटेको, डाइभरको ढोका खुलेको थियो । मदनको ढोका लक थियो ।
खोला किनारमा खोजी अभियान सुरु भयो । देशभरबाट पार्टीका नेताहरु भेला भए । नदी धमिलो थियो ।
पार्टीको महासचिव मरेपछि नयाँ महासचिव बनाउनु पर्यो भनेर देशभरका ठूला नेताहरु काठमाडौँ फर्किए । सीपी मैनालीले ‘मलाई महासचिव बन्नुछैन । म यतै खोजी अभियानमा बस्छु’ भन्नुभयो । गोरखा, कास्की, तनहूँ, लम्जुङ, धादिङ, चितवनका जिल्ला अध्यक्षहरु खोजी अभियानमा बस्यौँ ।
नारायणघाटबाट हजारौँ मान्छे, सयौँ डुंगा खोजी अभियानमा लाग्यो । तेस्रो दिनमा पार्टीका पश्चिम चितवन, माडी क्षेत्रका अध्यक्षले ‘किनारमा एउटा लास निकालेर डुङ्गामा राखेको छ । यस्सो हेर्दा मदन भण्डारीकै हो’ भन्न आए । मेरै कमाण्डमा एउटा जीप लिएर गइयो । दुर्घटनास्थलबाट ३२ किलोमिटर तर गाजापुरको भंगालोमा रहेछ । सानोपट्टि टापुमा । लास बिग्रन्छ भनेर डुंगाबाट नझिकी पानीमाथि नै राखिछोडेको रहेछ ।
लास हेरेँ । उहाँकै हो रहेछ । घाउ चोट केही थिएन । आँखा मास्तिर सानो चोट थियो । नदीमा ३२ किलोमिटर बग्दा ज्यूज्यान त छियाछिया हुनुपर्ने नि त्यस्तो थिएन । बाकसमा राखेर शव प्लेनबाट काठमाडौँ ल्याइयो ।
बाटोभरि सम्झिएँ ‘खैरेनीमा हामी छुट्दा चार बजेको थियो । मुग्लिनबाट केही तल कुनचाहिँ पसलमा चिया खाएर हिडेका रे । बाटो एकदम सोझो, फराकिलो छ । गाडी कुनादेखि रङसाइडबाट गएर तल कसरी खस्छ । त्यसमाथि पनि रोडबाट पाखोमा खस्छ । त्यहाँ पनि ब्रेक लगाउन सकिने अबस्था छ । सिटबेल्ट नबाँधेका जीवनराज जहाँको तहीँ छन्, मदन, जसको ढोका लक छ, निस्कने ठाउँ नै छैन । उनको शरीर कहाँबाट निस्कियो ? नारायणीमा गोही प्रजननकेन्द्र थियो । त्यहाँबाट शव कसरी तल बग्यो ? धेरै आशंका लाग्यो ।
ड्राइभर थियो अमर लामा । उसले केही बकेन । पछि थुनामा राखे तर बकाउन केही मिहिनेत गरेनन् । घटनाको दुईबर्षपछि मुक्त गरायो । जनयुद्ध ताका मदन भण्डारीको खोजी गर्छौँ भनेर खुब भन्थ्यो माओवादी । तर उनीहरु शान्ति प्रक्रियामा आउने भएपछि किर्तिपुरमा लखेटीलखेटी माओवादीकै नाममा अमर लामा मारियो ।
अब अहिले हेरौँ उहाँकी धर्मपत्नी राष्ट्रपति, त्यतिबेलै पार्टीले गठन गरेको छानबीन समितिका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री, तर कसैले खोजी गरेन । कोही कतै खोज्दै खोज्दैनन् ।
त्यतिबेला ओलीको नेतृत्वमा गठित छानबिन समितिले कहिल्यै रिपोर्ट सार्वजनिक गरेन । सरकारले त्रिलोकप्रताव राणाको नेतृत्वमा एमाले निकटका प्राध्यापक हर्षनारायण धौघडेल र काङ्ग्रेस निकटका वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती सदस्य थिए । आयोगले दिएको रिपोर्टमा हत्या हैन, दुर्घटना नै हो भन्ने निश्कर्ष आयो ।
बेलायततिर भिसेरा जाँच गर्न पठाए झैँ गरे तर घटना ढिसमिस बनाए । कांग्रेसको सरकार गएपछि एमालेको आफ्नै सरकार आएको थियो । अब त घटनाको सत्यतथ्य छानबीन भएर निश्कर्ष आउला भन्ने सबैको आकांक्षा र आशा थियो । तर मतलब कसैलाई भएन । मदन भण्डारीको लासमाथि टेकेर अहिले सबैले खाइरहेका छन् ।
मदन भण्डारीलाई म सकारात्मक, नकारात्मक दुवै तरिकाबाट हेर्छु । वैचारिक, राजनीतिक, सैद्धान्तिक रुपमा म उहाँले प्रतिपादन गरेको विचारधारामा म पूर्णरुपमा असहमत छु । अहिले नेकपा एमाले जुन ठाउँमा छ, जबजकै कारण छ । जबजले नै पार्टीलाई समाजवादबाट स्खलित गराएर पुँजीवाद र विसर्जनवादमा पतन गरायो ।
व्यक्तिगत रुपमा म उहाँलाई सम्मान गर्छु । किनभने उहाँ अत्यन्त लोकप्रिय नेता हुनुहुन्थ्यो । सबैका कुरा सुन्ने, सबैका बिचार, भिन्न विचारलाई पनि सम्मान गर्न सक्नुहुन्थ्यो । विशेषगरी म उहाँलाई राष्ट्रघाती महाकाली सन्धीको विरोधको प्रसंगमा स्मरण गर्छु । महाकाली सन्धीको बिरोधमा उहाँले देशव्यापी जनता उतारेर विरोध र विद्रोहको माहोल बनाउन समर्थ हुनुभयो ।
२०४६ सालको संयुक्त जनआन्दोलन सफल बनाई बहुदलीय प्रजातन्त्र ल्याउनमा उहाँको भूमिका अहम छ । भाषण कला उच्चस्तरको थियो । भाषणबाटै मान्छेलाई लठ्याउन सक्थे ।
लोभलालच थिएन । पदलोलुप थिएन । २०४८ सालको निर्वाचनपछि पार्टीले ६९ सिट जितेर दोस्रो ठूलो दल बनेको थियो । त्यतिबेला आफू संसदीय दलको नेता बन्ने मौका छँदाछँदै आफूले नलिएर मनमोहन अधिकारीलाई संसादीय दलका नेता बनाउनु भयो ।
अहिलेका सबै पार्टीमा हेरौँ, आफै पार्टी प्रमुख, आफै दलका नेता ।
अहिले पनि सम्झन्छु, जेठको २९ गते तनहूँको जिल्ला अधिवेशन दमौलीमा आयोजना हुदै थियो । त्यहाँ भेट्ने धोको थियो, अधुरै रह्यो ।
(शिव उप्रेतीसँगको कुराकानीमा आधारित)




