
पालुङ्टारमा एक कोरोना संक्रमितको मृत्यू , थप तीन जनामा संक्रमण पुष्टि
पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरी बजारमा एक महिलाको कोरोनाका कारण मृत्यू भएको छ । ६७ बर्षकी एक महिलाको आइतबार राती साँढे १२ बजे होम आइसोलेशनमा मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएपछि क्यान्सर सेण्टर काठमाडौँबाट घरमा आइपुगेकी उनको राती मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
उनी क्यान्सरका पुरानो बिरामी रहेको जनाइएको छ । उनको मौलिक परम्पराअनुसार आफन्तहरुले अन्त्येष्टि गरेको पालुङ्टार नगरपालिकाको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले जानकारी दिए । अन्त्येष्टिका लागि यातायातका साधन तथा स्वास्थ्य सुरक्षा सामग्री नगरपालिकाले उपलब्ध गराएको उनले बताए ।
साथै सोही नगरपाालिका वडा नं. ५ सोही टोलका ६६ बर्षका एक पुरुष र वडा नं. ६ लुङ्गाका ७१ बर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा परीक्षणको क्रममा पुष्टि भएका उनीहरु पनि होम आइसोलेशनमा रहेका उनले बताए ।
त्यस्तै सिरानचोक गाउँपालिका घर भई हाल भीमसेन थापा गाउँपालिका ६ बस्ने ४४ बर्षका एक पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको नारायणबाबु अर्यालले जानकारी दिए ।
गोरखा नगरपालिका ६ रानीपोखरीका दुई जना संक्रमितलाई भने गोरखा अस्पतालको आइसोलेशनमा लगिएको छ ।




