
गाउँपालिका अध्यक्ष र दुई वडाअध्यक्ष नौ घण्टासम्म बारपाकबासीको घेरामा
गत फागुन १० गते एकै घरका तीनजनाको रहस्यमय मृत्यू भएको घटनाको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न दबाब दिदै बारपाकका बासिन्दाले गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षहरुलाई घेरामा राखेका छन् । बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, वडा नं. १ का अध्यक्ष रोशन विक र वडा नं. २ का अध्यक्ष लालबहादुर गुरुङ आइतबार दिउसो दुई बजेदेखि बेलुका नौ बजेसम्म पिडित पक्षले घेरामा राखेका हुन् ।
एकबजे प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको रोहबरमा एसपी शेखर खनालले कार्वनमनोअक्साइड भरिएको र अक्सिजनको कमी हुँदा ८४ वर्षिय टिलबहादुर गुरुङ, २२ वर्षिया आईतकुमारी गुरुङ र १३ वर्षिया उषा गुरुङको मृत्यू भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । तर प्रतिवेदनप्रति असहमति जनाउँदै गाउँलेले प्रतिवाद गरेका वडा सदस्य धनबहादुर घलेले बताएका छन् । ‘उपस्थित भएका सवैको सामु प्रतिवेदन सुनाउनु पर्छ भन्ने गाउँलेको माग थियो, तर उहाँहरुले जनप्रतिनिधि र पिडित परिबारलाई मात्र सुनाएर फर्किनु भयो । यसप्रति पनि गाउँले आक्रोशित बने’, घलेले भने, ‘रिपोर्ट पनि विश्वासनीय भएन । त्यसैले असन्तुष्ट पक्षले सिडिओसाव र एसपी सावसँगको आक्रोश गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुमाथि पोखेका हुन् ।’ पिडित पक्ष र उनका समर्थकले जनप्रतिनिधिहरुलाई दिउँसो एकबजेदेखि बेलुकी नौबजेसम्म वडा कार्यालयभित्र घेरामै राखेका उनले बताए ।
राती नौ बजेपछि जनप्रतिनिधिहरु घेरामुक्त भएका स्थानीयबासीले बताएका छन् ।
तर एसपी खनालले भने असन्तुष्ट समूह र जनप्रतिनिधिहरु बीच लामो समय छलफल चलेको दाबी गरे ।




