| सोमवार, कार्तिक २३, २०८३

कोभिड व्यवस्थापनप्रति जिल्ला उदासिन

कोरोना संक्रमण फैलन थालेको छ । जेठसम्म संक्रमणले बिकराल रुप लिने विज्ञहरुको पूर्वअनुमान छ । सरकारले देशका १४ वटा जिल्लालाई संवेदनशील घोषणा गरेर न्यूनिकरणका विभिन्न प्याकेज घोषणा गरेको छ ।

रात्रीकालीन सेवा यसअघिदेखि नै बन्दको निर्णय गरिसकेको छ । ती जिल्लाका विद्यालय बन्द गराउन पनि अपिल गरेको छ ।
अन्य जिल्लाहरुमा पनि सतर्कता अपनाउन निर्देशन दिइसकेको छ तर गोरखामा कोरोना संक्रमण फैलन नदिन कुनै पनि पूर्व सावधानी अपनाइएको छैन ।
काठमाडौँमा कोरोना परीक्षणको क्रममा गोरखा नगरपालिका १२ का एक परिबारमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।


‘कोभिड संकट व्यवस्थापन समितिले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन’, सो समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘माथिबाट पनि केही त्यस्तो ठोस निर्देशन आएको छैन । पालिकाहरुले पनि केही तयारी गरेको जस्तो देखिएको छैन ।’ हरेक पालिकाले पाँच शैयाको आइशोलेशन केन्द्रहरु बनाउनु पर्ने प्रावधान रहेको भन्दै उनले पालिकाहरुले यसको तयारी गरेको हुनसक्ने बताए ।


जनस्वास्थ्य कार्यालय गोरखाले पनि अहिलेसम्म कुनै कदम अघि नबढाइसकेको कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । ‘नयाँ परिवेशमा कसरी अघि बढ्ने भनेर अहिलेसम्म कुनै कार्ययोजना बनेको जस्तो मेरो जानकारीमा छैन’, अर्यालले भने ।
गोरखा अस्पतालमा पनि कोरोना व्यवस्थापन सम्बन्धी कुनै पूर्व तयारी भएको छैन । यसअघि निर्माण गरिएको सात शैयाको आइसोलेशन यथावत रहेको तर नयाँ परिवेशनमा कसरी अघि बढ्ने भन्ने बारे थप कुनै काम नभएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।


आँबुखैरेनीबाट गोरखा नगरपालिका प्रवेश गर्ने मुख्यद्वारमा यसअघि निर्माण गरिएको होल्डिङ सेण्टरलाई जगाउने बारे प्रारम्भिक छलफल भएको गोरखा नगरपालिकाका स्वास्थ्य प्रमुख इश्वर रेग्मीले बताए । अन्य क्वारेण्टाइन तथा आइसोलेशनको बारेमा कुनै निर्णय नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्