
काठेपुलबाट बूढीगण्डकीमा खसेर एक बालकको मृत्यू
पानीघट्टामा जाने क्रममा बूढीगण्डकीमा खसेर एक बालकको मृत्यू भएको छ ।
चुमनुब्री गाउँपालिका वडा नं. ५ बुरबाट वडा नं. ४ प्रोकको पानीघट्टामा जाने क्रममा बुरका १२ बर्षका पेमा घ्याल्बो लामाको मृत्यू भएको मृतकका बुबा मिङ्ग्युर दोर्जे लामा(जीवन)ले जानकारी दिए ।
‘गण्डकीमाथि दुईवटा मुढा तेस्र्याएर पुल बनाएको छ । अस्ति शुक्रबार बिहान साँढे दसबेजतिर त्यही काठेपुल तरेर म र मेरो छोरो प्रोकको पानीघट्टातर्फ जाँदै थियौँ’, उनले भने, ‘पुलमा दुईजना एकैचोटी तर्न मिल्दैनथ्यो । त्यसैले म पहिले पुल तरेर पारि गएँ । बाबु पछिपछि आउदैथियो तर एक्कासी उ गण्डकीमाथि खस्यो । उ खसेपछि बचाउन सक्छु कि भनेर पनि गण्डकीमा हेलिएँ । तर उसलाई भेट्टाउन सकिन । मलाई गण्डकीले बगाएर धेरै तल पु¥याएर पाखामा फाल्दियो र म बाँचे तर छोरालाई बचाउन सकिन ।’ प्रहरी र स्थानीयबासीले तीनदिनसम्म खोजी गर्दा पनि छोरालाईफेला पार्न नसकेको उनले बताए ।
उनी ङाक्यूर मेमोरियल स्कूल थानकोटमा कक्षा एकमा पढ्थे ।
पुल नहुँदा छोराले अकालमा जीवन गुमाउनु परेकोमा उनले दुख ब्यक्त गरे । ‘पुल नहुँदा मेरो जीवन त अन्धकार भयो, भावी दिनमा अरुले पनि यस्तो घटना बेहोर्नु नपरोस् भन्ने मेरो चाहना हो’, मिङ्ग्युर घ्याल्बोले भने, ‘पक्की पुलको अभावमा बुर गाउँका १० घरधुरीका बासिन्दा समस्यामा छन् । पटक पटक नेताहरुसँग पुल माग गर्दा पनि पाउन सकिएन ।’
अर्का स्थानीय पेमा घ्याल्बो लामाका अनुसार स्थानीय तहको चुनाव हुनुभन्दा अघि एकफेर सर्भे गर्न प्राविधिक सो ठाउँमा पुगेका थिए तर पुल भने अहिलेसम्म बन्न नसकेको उनले बताए ।




