
उहियाकी पुतली गुरुङको मृत्यूको घटना चारदिनदेखि रहस्यमै
गोरखाको दुर्गम उहिया गाउँकी एक महिलाको चारदिनअघि भएको मृत्यूको घटनाको रहस्य अझै खुल्न सकेको छैन । धार्चे गाउँपालिका वडा नं. ३ उहिया माथिल्लो गाउँकी ५१ बर्षीया पुतली गुरुङको मृत्यूको रहस्य गत बिहिबारदेखि अहिलेसम्म रहस्यकै गर्भमा रहेको हो ।
घरभित्रै झुण्डिएको अबस्थामा भेटिएको उनको शरीरभरि चोटपटक देखिएपछि घटना रहस्यमय बनेको वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
‘गत पुसको १६ गते साँझ साँढे ५ बजे उनको छोरी जेनी घलेले आमाको शव घरभित्र दलिनमा झुण्डिरहेको फेला पारिन् । अनुहार र शरीरभरि चोटपटक देखेपछि यो आत्महत्या हुनै सक्दैन भनेर गाउँलेले प्रहरीलाई खबर गरेका छन्’, अध्यक्ष गुरुङले भने, ‘अहिले शवको पोष्टपार्टम गरेर अन्त्येष्टि पनि भइसकेको छ । तर पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन ।’ श्रीमान पुनमान घलेको कुटपिटबाट मृत्यू भएको दावीसहित मृतकका माइती पक्ष प्रहरी कार्यालयमा जाहेरी दिन गएका उनले बताए ।
मृतकका माइती पक्ष र श्रीमान पुनमान घले प्रहरीको सम्पर्कमा आएका डिएसपी वासुदेव खतिवडाले बताए । ‘उहाँहरु दुवै पक्ष हाम्रो सम्पर्कमा आउनु भएको छ तर जाहेरी भने आइसकेको छैन’, डिएसपी खतिवडाले भने ।
घले दम्पत्तिको यसअघि पनि पटक पटक झैझगडा र कुटपिट हुने गरेको स्थानीयबासीको भनाइ छ ।
उहिया गोरखा सदरमुकामबाट दुई दिन पैदल हिडेपछि पुगिने ठाउँ हो ।




