
दृष्टिविहिन विद्यार्थीलाई कोरोनाका बेला पनि भौतिक दुरी छैन, साँगुरो कोठामा कोचिएर बस्नुपर्ने बाध्यता
गोरखा सदरमुकामको सरस्वती माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले कोरोना महामारीका बेला पनि कोचिएर बस्नु पर्ने बाध्यतामा छन् । साँगुरो कोठा र पर्याप्त ओछ्यानको अभावका कारण एउटै ओछ्यानमा दुईजना कोच्चिनु परेको उनीहरुको गुनासो छ ।
१४ जना दृष्टिविहिन विद्यार्थी दुईवटा साँगुरा कोठामा कोचिएर बस्दा बिभिन्न समस्या भएको विद्यार्थीहरुको गुनासो छ । ‘कोरोना संक्रमणको यत्तिधेरै डर छ, तर हामी जम्मा दुईवटा कोठामा १४ जना कोचिएर बस्नु पर्दा असाध्यै समस्या छ’, कक्षा १० मा अध्ययनरत सुक्रिया नेपाली भन्छिन्, ‘कोठा सानो छ । १२ जना केटीहरु एउटै कोठामा कोचिएर बस्नुपर्छ । ओछ्यानहरु पर्याप्त छैन ।
एउटै ओछ्यानमा दुईजना सुत्नुपर्छ । सानोसानो नानी हुँदा त ठिकै हुन्थ्यो । अहिले त सबै ठूलाठूला छौं । भन्न मिल्ने, नमिल्ने बिभिन्न समस्या हुन्छ । एकदम कठिन परेको छ ।’ कोरोनाको बेला पनि भौतिक दुरी र व्यक्तिगत सरसफाइ अपनाएर अलग्गै सुत्नबस्न नपाएको उनको गुनासो छ ।
‘कोरोनाको यत्रो महामारी चलिरहेको छ । दुईजना संगै सुत्दा, बस्दा उसका कारण आफूलाई पो केही हुने हो कि, अथवा आफ्नो कारण उसलाई पो केही हुने हो कि भन्ने डर छ’, उनले भनिन्, ‘यस्तै डरले अझै कतिपय विद्यार्थीहरु त पढ्न आउन सकेका छैनन् ।’
जाडोका कारण पनि समस्या झेल्नु परेको कक्षा नौमा अध्ययनरत अर्का दृष्टिबिहिन विद्यार्थी राम आलेले गुनासो गरे । ‘यस्तो चिसो बढिरहेको छ तर हाम्रो कोठामा कार्पेट पनि छैन’, उनले भने, ‘साना भाइबहिनीहरुलाई चिसोले धेरै समस्या परिरहेको छ ।’
अलग्गै छात्रवास भवन नहुँदा समस्या झेलिरहेको उनको भनाइ छ । ‘अहिले हामी बसिरहेको दुईवटा कोठा सबै विद्यार्थी पढ्ने कक्षा कोठा भवनसंगै जोडिएको छ’, आले भन्छन्, ‘पढ्न आएका सबै विद्यार्थीहरु हाम्रो कोठामा आउने, जाने गर्छन् । भीडभाड हुँदा कोठामा धुलो उत्तिकै हुन्छ । धेरै समस्या भएको छ ।’ विद्यालय भवनबाट केही पर अलग्गै छात्रवास भइदिए ठूलो राहत हुने उनले बताए ।
अहिले भइरहेको छात्रवास भवनमा पानीको समेत अभाव रहेको अर्की विद्यार्थी मनिका राना मगर बताउँछिन् । ‘हाम्रो लागि पानीको धारा नजिक छैन’, उनी भन्छिन्, ‘छाम्दैछाम्दै जानुपर्छ । त्यसैले पानीको धारा नजिक भइदिए हामीलाई सजिलो हुनेथियो । यहाँ त जताततै खुल्ला छ । ट्वाइलेट बाथरुम पनि सुरक्षित छैन ।’ कम्पाउण्डसहितको छुट्टै भवन नहुँदा समस्या भइरहेको उनले बताइन् ।
अलग्गै भवन र कम्पाउण्ड भएमा दृष्टिबिहिन विद्यार्थीलाई सजिलो हुने कक्षा १० मा पढ्ने विद्यार्थी प्रवेश परियार बताउँछन् । ‘छुट्टै कम्पाउण्ड भएको भवन भए आफ्नै जस्तो हुन्थ्यो । अरुले डिस्टर्ब गर्दैनथे’, उनले भने, ‘बरु टाढा भए पनि हुन्छ । रेलिङमा समातेर, ह्वाइटकेन, लठ्ठीको मद्धतले हिडडुल गर्न सकिन्थ्यो ।’ कक्षाकोठा भवनसँगैको कोठामा बस्नुपर्दा अरु विद्यार्थीहरु आएर खेलिदिने, फोहर गरिदिने गरेको उनले बताए ।
अहिले भइरहेको छात्रवास दृष्टिबिहिन मैत्री नभएको र ठाडो सिँडी उक्लिनु, ओर्लिनु पर्ने विद्यालयका सहायक प्रधानाध्यापक राजन कट्टेलले बताए । ‘अहिले दृष्टिविहिन विद्यार्थीहरु जसोतसो काम चलाउ ढंगले बसिरहेका छन्’, उनले भने, ‘उनीहरुको कोठामा जाने बाटोमा अग्ला सिँडीहरु छन् । उनीहरुको बसोबास गर्ने ठाउँ त्यति सुरक्षित छैन । त्यसैले उनीहरुका लागि विशेष सुविधायुक्त एउटा छात्रवास भवनको ज्यादै खाँचो छ ।’





