
मंगलबारदेखि गोरखा अस्पताल खुल्ने
स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण बन्द भएको गोरखा अस्पताल मंगलबारबाट सुचारु हुने भएको छ । स्वास्थ्यकर्मीहरुलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिने जिल्ला प्रशासन कार्यालयको प्रतिवद्धतापछि अस्पताल सुचारु गर्ने सहमति भएको मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिए ।
‘चिकित्सकमाथि हातपात भएपछि सबै स्वास्थ्यकर्मीहरु आन्दोलित हुनुभएको थियो’, डाक्टर थापाले भने, ‘जिल्ला प्रशासन कार्यालयले सुरक्षाको प्रत्याभूति गराउने भनेपछि सबै स्वास्थ्यकर्मीहरु काममा फर्कन राजी हुनु भयो । अब भोलि(मंगलबार)बाट अस्पतालका सबै सेवा साबिकको झैँ सुचारु हुनेछ ।’
गत शनिबार गोरखा नगरपालिका ३ की एक सुत्केरी अस्पतालमा लडेको र आफन्तलाई भेट्न नदिएको बिषयमा बिबाद हुँदा अस्पतालभित्र तनाव सिर्जना भएको थियो ।
विरामी र आफन्तमाथि चिकित्सकले दुव्र्यबहार गरेको भन्दै नेविसंघले विज्ञप्ति जारी गरी विरोध जनाएको थियो भने कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले विज्ञप्ति जारी गरी सेवा बन्द गर्ने आन्दोलनको घोषणा गरेका थिए । घोषणापछि आइतबार र सोमबार अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द भएको थियो ।




