| सोमवार, कार्तिक २३, २०८३

तातो बनाउन बन्द कोठामा हिटर-कोइला बाल्दा आमा छोरीको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए।

३२ वर्षीय दोर्जे र २८ वर्षीया पेम्बीकी एक महिनाअघि छोरी जन्मेकी थिइन्।  

बाबु-आमाको घर त्यहीँ नजिकै रहे पनि उनीहरू एक वर्षदेखि छुट्टै बस्न थालेका थिए।  

उनीहरू घरको दोस्रो तलामा बस्थे। त्यहीँ एउटा सटरमा पसल थापेका थिए। 

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार पण्डित बिहीबार बिहान साढे ७ बजे भुइँतलामा झरे।

सधैं बिहानै खुल्ने पसलको सटरमा ताल्चा झुन्डिइरहेको थियो। पण्डित केही सामान किन्न भनेर झरेका रहेछन्।

पसल बन्द देखेपछि उनले ढोका ढकढक्याए। तर, खुलेन। न भित्रबाट कोही बोल्यो। 

पण्डितलाई शंका लाग्यो। उनले छिमेकीलाई खबर गरे। दोर्जेका परिवारलाई बोलाए। 

छिमेकी भेला भएर ढोका फोडे।  भित्र तीनै जना घोप्टो परेर भुइँमा ढलेका थिए। 

ढलेकामध्ये आमाछोरीको मृत्यु भइसकेको थियो। दोर्जे बेहोस थिए। उनलाई नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ।

‘आइसियुमा राखेर उपचार भइरहेको छ, अवस्था सुधारोन्मुख छ भन्ने जानकारी अस्पतालबाट आएको छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने। 

कार्कीका अनुसार तगारीमा कोइलाको आगो बालेको देखिन्छ। छेउमा इलेक्ट्रिक हिटर बलिरहेको थियो।

ढोका र झ्याल पूरै बन्द थिए। कोठामा भेन्टिलेसन पनि थिएन। 

‘आगो र हिटर दुबैको तापले निसास्सिएर ढलेको देखिन्छ,’ कार्कीले भने। 

चिसो मौसम र भर्खरै बच्चा जन्मिएकाले उनीहरूले कोठा न्यानो पार्नका लागि हिटर र आगो दुबै बालेको देखिएको कार्कीले बताए। 

हिटर जोडेर तगारीमा आगो बाल्दै बच्चाको सेकताप गरिरहेका बेलै यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

श्रीमान-श्रीमती पलेंटी कसेर बसेको अवस्थामा फेला परेका थिए। पेम्बीले बच्चालाई दूध चुसाइरहेको देखिन्छ।

‘दुध खुवाइरहेकै पोजिसनमा घोप्टो परेर ढलेको देखिन्छ,’ कार्कीले भने। 

दोर्जेका हातखुट्टामा आगोको रापले उठेका फोका छन्। त्यसकारण पनि उनीहरूले कोठालाई एकदमै न्यायो बनाउन खोजेको भन्न सकिन्छ। 

शवको मुचुल्का महानगरीय प्रहरी वृत्त बौद्धले उठाएको छ।

‘आमा र शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ,’ कार्कीले भने। 

घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो। 

यो घटनाले झ्याल-ढोका बन्द गरेर हिटर बाल्दा होसियारी अपनाउनु पर्ने देखिएको कार्कीले बताए।

हिउँदमा हिटर बाल्दा र भेन्टिलेसन बन्द गरेर ग्यास गिजर खोलेर नुहाउँदा निसास्सिएर मृत्यु हुने गरेका घटना वर्षेनी हुन्छन्। अक्सिजनको कमी भएर मानिस बेहोस हुने र घन्टौंसम्म उद्धार हुन नसक्दा मृत्यु हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्