
कलंकी दुर्घटना : सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान
बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५ बजे कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङका रोकिराखेको ट्रकमा सो गाडी ठोक्कियो ।
पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किँदा चारजना गम्भीर घाइते भए । घाइतेहरुलाई तत्कालै उपचारको लागि नजिकैको सहिद मेमोरियल अस्पताल लगियो । उपचारको क्रममा घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ ।
नुवाकोट तार्केश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे, सुन्दरादेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ र तारकेश्वरकै २७ वर्षीय भुपेन्द्र तामाङको दुर्घटनामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहोराले बताए ।
डीएसपी बोहोराका अनुसार माधव घिमिरेलाई ४ः२१ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घिमिरेको मृत्यु भएको ९ मिनेटपछि (४ः३० बजे) अस्पतालले भुपेन्द्र तामाङलाई पनि मृत भोषणा गरेको हो । त्यस्तै भुपेन्द्रको मृत्यु भएको २७ मिनेटपछि (४ः५७ बजे) रोशन तामाङको मृत्यु भएको बोहोराले बताए ।




