
गोरखाका युवकको हत्या आरोपमा फारर २ जना पक्राउ
काठमाडौंको धापासीमा ग्याङफाइट २५ वर्षीय युवकको हत्या गरी फरार भएका दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले गत शुक्रबार हत्या गरिएका आशिष मगरको हत्यामा संलग्न थप दुई जनालाई पक्राउ गरेको हो ।
संखुवासभाका १९ वर्षीय दोर्जे शर्पा र टोखा बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूलाई शनिबार र आइतबार बिहान पक्राउ गरेको हो । गत शुक्रबार बिहान टोखा नगरपालिका ५ धापासीस्थित देवी मन्दिर परिसरमा गोरखाका आशिष मगरको हत्या भएको थियो । मन्दिर परिसरमा दुई समूहबीच झडप हुने क्रममा मगरको छातीमा छुरा लागेपछि गम्भीर घाइते भएका थिए ।
त्यहाँ रहेका मगरका साथीहरूले उपचारको लागि चिरायू अस्पताल लगेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
‘दुई पक्षबिच ग्याङफाइट हुँदा मगरमाथि छुरा प्रहार भएको हो,’ एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘कुन व्यक्तिले छुरा प्रहार गरेको हो भन्ने खुलिसकेको छैन । उनीहरू एकले अर्कालाई दोष लगाएर बसेका छन ।’ यसअघि गत शुक्रबार नै घटनामा संलग्न रवि थापा मगर र दिवश अधिकारी पक्राउ परेका थिए । यस सम्बन्धमा अनुसन्धानपछि मात्रै कुन व्यक्तिले छुरा हानेको खुल्ने एसपी राठौरले बताए । उनका अनुसार उनीहरू मन्दिर परिसरमा गाँजा खाने गर्थे ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार केटीका विषयमा दुई समूहबीच विवाद रहँदै आएको थियो । शुक्रबार झडप हुँदा मगरले ज्यान गुमाएका हुन् ।




